काठमाडौं । १३औं संस्करणको साफ च्याम्पियनसिप भोलिबाट माल्दिभ्समा सुरू हुँदैछ।
साफको उद्घाटन खेलमा श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। यसअघि नेपाल र आयोजक माल्दिभ्सबीच उद्घाटन खेल हुने भनिए पनि साफले खेल तालिका परिवर्तन गरेको हो।
नेपाल र माल्दिभ्सबीच शुक्रबार राति प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ।
खेलअघि नेपाली टिमका कप्तान किरणकुमार लिम्बुले घरेलु टिमसँग पहिलो खेल कुनै गाह्रो नभएको प्रतिक्रिया दिएका छन्।
‘माल्दिभ्ससँग घरेलु मैदान र समर्थकको साथ छ। यसले केही फरक पर्दैन। किनभने हामी गार्खाली हौं। विश्वलाई गोर्खालीको इतिहास थाहा छ। हामी कोहीसँग डराउँदैनौ। हामी माल्दिभ्सको समर्थकलाई सम्मान गर्छौं तर हामी अन्तिमसम्म लड्नेछौं,’ उनले भने।
‘टिममा सिनियर र युवा खेलाडीको संयोजन छ। प्रतिस्पर्धा गरिरहेका टिम मध्ये हामी मात्र उपाधि जित्न नसकेको तथा फाइनलमा पुग्न नसकेका टिम हौं। अर्कोतर्फ राउन्ड रोबिन भएकाले हरेक खेल कठिन हुनेछ।’
नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले राम्रो तयारी गरेको बताउँदै उत्कृष्ट खेल्ने विश्वास व्यक्त गरे।
‘हामी साफको फाइनलमा पुगेका छैन। हामी राम्रो खेल्ने कोशिस गर्नेछौं। हामीलाई माल्दिभ्ससँग गाह्रो हुनेछ। किनभने माल्दिभ्स डिफेन्डिङ च्यम्पियन र घरेलु टिम हो,’ उनले भने।
यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।
पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।
साफमा नेपालको खेल
नेपाल भर्सेस माल्दिभ्स – असोज १५ गते – राति ९:४५ बजे
नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९:४५ बजे
नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४:४५ बजे
नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द
मिडफिल्डर : विशाल राई, सुनील बल, सुरज ज्यु ठकुरी, नितिन थापा, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा
फरवार्ड : नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आसिस लामा
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्