हिमाल दैनिक
काठमाडौं, असोज १५– भारतको झारखण्ड र आसपासतिर बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेकोले हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाअनुसार अहिले गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । विभागले आज (शुक्रवार) बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै दिउँसो देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरू प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । राती देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरू प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । भोलि (शनिवार) दिउँसो देशभर सामान्य बदली रही प्रदेश २ का धेरै र अरू प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । शनिवार राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश २ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । विभागअनुसार पर्सी (आइतबार) दिउँसो देशभर सामान्य बदली रही प्रदेश १,२, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उक्त स्थानहरूका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update