हिमाल दैनिक
हैदराबादलाई हराउँदै चेन्नई प्लेअफमा
dhoni-kane-williams-cskvs-shr-1024x538
चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा को प्लेअफमा पुगेको छ । चेन्नई शीर्षस्थानमा रहँदै आइपिएल २०२१ प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले छक्का प्रहार गर्दै तीन खेल अगावै प्लेअफमा स्थान बनाएका छन् । यो हारसँगै सनराइजर्स हैदराबादको शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने सम्भावना सकिएको छ । हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य चेन्नईले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ऋतुराज गायकवाडले ४५, फाफ डुप्लेसिसले ४१, मोइन अलीले १७, अम्बाती रायडूले अविजित १७ र महेन्द्रसिंह धोनीले नटआउट १४ रन बनाए । बलिङमा जेसन होल्डरले तीन र राशिद खानले एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले २० ओभरमा सात विकेट गुमाएर १ सय ३४ रन बनायो । उसका लागि ऋद्धिमान शाहले ४४, अभिषेक शर्मा र अब्दुल समदले १८/१८, केन विलियम्सनले ११ र राशिद खानले अविजित १७ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा जोश हेजलवुडले तीन, ड्वेन ब्रावोले दुई, शार्दुल ठाकुर र रविन्द्र जडेजाले एक/एक विकेट लिए । जारी सिजनमा चेन्नईको यो नवौँ जित हो । उसले ११ म्याच खेल्दा दुई खेलमा मात्र हार बेहोरेको छ । हैदराबादले भने ११ म्याच खेल्दा दुई म्याचमा मात्र जित निकालेको छ । चेन्नई आइपिएल इतिहासमा गतवर्ष पहिलो पटक लिग चरणबाटै बाहिरिएको थियो । २०२० बाहेक अन्य सबै संस्करणमा चेन्नईले सहजै प्लेअफमा स्थान बनाएको थियो । चेन्नईले तीन आइपिएल उपाधि जितेको छ । चेन्नईले शनिबार आबूधाबीमा खेल्नेछ । हैदराबादले आइतबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update