हिमाल दैनिक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेसन आजबाट सुरु हुँदैछ । नेकपा विभाजन भइ दुई दल भएपछि फेरि पनि दुई टुक्रा बनेको एमालेले ललितपुरको गोदावरीस्थित ‘सनराइज हल’ मा आजबाट पहिलो विधान महाधिवेसन गर्दै छ । महाधिवेसनले ‘समाजवादको आधार निर्माण’ गर्ने मुख्य कार्यदिशा तय गर्नुका साथै पार्टीको विधान र सांगठनिक संरचनाबारे निर्णय गर्ने जनाइएको छ । महाधिवेशनमा देशैभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । यो महाधिवेशनले मुख्य गरी माओवादी र एकीकृत समाजवादी पार्टीविरुद्ध वैचारिक रणनीति तय गर्ने एमाले नेता बताउँछन्। ‘पार्टीलाई वैचारिक रूपले सुस्पष्ट, संगठनात्मक दृष्टिले चुस्त र सुदृढ, भावनात्मक रूपमा एकताबद्ध, जनतासँग घनिष्ठ रूपमा आबद्ध मुलुकको बहुमत प्राप्त पहिलो शक्ति बनाउने,’ अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा उल्लेख छ, ‘वर्तमान गठबन्धनको अवरसवादी, स्वार्थी र राजनीतिक अस्थिरता सिर्जना गर्ने चरित्रका बारेमा जनतालाई स्पष्ट गर्ने । गठबन्धन सरकारबाट गरिने जनविरोधी, राष्ट्रविरोधी क्रियाकलापको सशक्त भण्डाफोर र विरोध गर्ने ।’ प्रतिपक्षका रूपमा पार्टीको भूमिकालाई सशक्त, सिर्जनात्मक र प्रभावकारी बनाउने प्रतिवेदनमा उल्लेख छ । ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं,’ एमालेले आगामी कार्यदिशाबारे भनेको छ, ‘जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं ।’ अध्यक्ष ओलीको राजनीतिक, महासचिव ईश्वर पोखरेलको संगठनात्मक र संगठन विभागको तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् । यसअघि यी तीनैवटा दस्ताबेज स्थायी कमिटी, केन्द्रीय कमिटी र पुनः स्थायी कमिटीबाट अनुमोदन भइसकेका छन् । विधान महाधिवेशनमार्फत पार्टी संगठनलाई पुनःसंगठित गर्ने र कार्यकर्ताको मनोबल उठाउने एमालेले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update