एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत पोखरा राइनोजविरुद्ध चितवन टाइगर्स ९ विकेटले विजयी भएको छ ।
आजको जितसँगै चितवन प्लेअफमा प्रवेश गरेको छ । पोखरा भने आजको हारले ताकिलको चौथो स्थानमा खस्किएको छ ।
पोखराले दिएको १ सय २४ रनको लक्ष्य चितवनले १४.४ ओभरमा भेट्टायो । उसका लागि मोहम्मद शहजाद र भीम शार्कीले अर्धशतकीय पारी खेले ।
शहजादले ५२ बलमा दुई छक्का सात चौकाको मद्दतमा अविजित ६३ र शार्कीले ४२ बलमा दुई छक्का र पाँच चौकाको मद्दतमा नटआउट ५२ रन बनाए ।
त्यस्तै, इशान पाण्डे भने शून्यमै आउट भए । बलिङमा विक्रम सोबले एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन बनायो ।
उसका लागि युवा अलराउन्डर विवेक यादवले अर्धशतकीय पारी खेले । उनले ४५ बलमा तीन छक्का र तीन चौकासहित अविजित ५३ रन बनाए ।
त्यस्तै, अेशल गुणारत्नले २५ र रिचर्ड लेभीले २० रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
बलिङमा साअब आलम, कमल ऐरीले २/२ र सोमपाल कामीले एक विकेट लिए ।
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय