हिमाल दैनिक
काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका ११ वटा नगरपालिका मध्ये १० वटामा आज नगर अधिवेशन हुने भएको छ । दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन नै बाँकी रहेकाले आज अधिवेशन नहुने जिल्ला सचिव राजकुमार नकर्मीले जानकारी दिनुभयो । त्यस्तै चन्द्रागिरी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ । त्यहाँ अहिलेकै नगरसभापति घनश्याम गिरीलाई दोहो¥याउन संस्थापन र इतर पक्ष तयार भएको छ ।
काठमाडौंका बाँकी नौ वटा नगरपालिकामा नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा र कृष्ण सिटौलाको एउटा टिम बनेको छ भने इतर पक्षबाट प्रकाशमान सिंह र गगन थापाको अर्को टिम तयार गरिएको छ । नौ वटै नगरपालिकामा नेतृत्व हत्याउन दुवै पक्षले कसरत तीव्र पारेका छन् । देशकै सबैभन्दा ठूलो काठमाडौं महानगरपाकिलामा केन्द्रीय महाधिवेशनको झल्को दिने गरी उम्मेद्वारी तय र प्रचार प्रसार गरिएको छ । महानगरमा सभापतिका लागि देउवा–सिटौला पक्षले प्रगतिमान रञ्जित र सिंह–थापा पक्षले नीलकाजी शाक्यलाई उम्मेद्वार बनाएको छ । काठमाडौं महानगरमा २० हजारभन्दा बढी क्रियाशील सदस्य छन् । शंखरापुरमा संस्थापन पक्षले सत्यमान लामालाई नगर सभापतिको उम्मेद्वार बनाएको छ । प्रकाशमान गगन समूहले दीलिपकुमार श्रेष्ठलाई उम्मेद्वार बनाएको युवा नेता पुरुषोत्तम चौलागाईंले जानकारी दिए । शंखरापुरमा प्रकाशमान गगन समूह बलियो मानिएको छ । त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकामा संस्थापन पक्षले उद्धव थापालाई उम्मेद्वार बनाएको छ । अर्को पक्षले मिठाराम दाहाललाई नगरसभापतिको उम्मेद्वार बनाएको छ । दुवै पक्ष तीव्र तयारीमा जुगेका छन् । गोकर्णेश्वरमा संस्थाप पक्षबाट रामजी श्रेष्ठ र अर्को पक्षबाट कुमार लामा चुनाव प्रतिस्पर्थामा रहेको बताइएको छ । बुढानीलकण्ठमा संस्थापन पक्षले राजु थापालाई नगरसभापतिको उम्मेद्वार बनाएको छ । अर्को पक्षले राजाराम बुढाथोकीलाई उम्मेद्वार बनाएको छ ।
प्रकाशित मिति: शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update