हिमाल दैनिक
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भारतीय स्वतन्त्रता संग्राम नायक महात्मा गान्धीले मानव समाजको भलाइका लागि आवश्यक विषयबारे नबोलेको कुनै विषय नभएको बताए। गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको उपलक्ष्यमा महेन्द्रनाराण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको लोकतन्त्रको स्थायित्वका लागि शान्ति विषयक विचार गोष्ठीमा बोल्दै निधिले मानव समाजका लागि आवश्यक दिएका विचार पहिचान गरी त्यसको छनौट गर्ने क्षमता व्यक्तिगत छनौटमा निर्भर गर्ने बताए। मेरो जीवन नै मेरो सन्देश नामक पुस्तकमा गान्धीले लेखेका विषयबारे चर्चा गर्दै अहिले पनि नेपाल र नेपालीलाई चाहिएको विषय नेपालीले नै चिन्नु र छान्नु परेको बताए। गान्धीको अहिंसात्मक आन्दोलनको बाटोबाट नै भारत अंग्रेजको दासत्वबाट मुक्त भएको बताउँदै क्रान्ति वा परिवर्तन केबल बन्दुकबाट मात्र प्राप्त गर्न सम्भव नभएर अहिंसाको बाटोबाट पनि सम्भव भएको उदाहरण गान्धीले देखाएको निधिले बताए। आधुनिक सभ्य समाजका लागि चाहिने सबै कुरा गान्धीको विचारबाट प्राप्त गर्न सकिने दाबी पनि निधिले गरे। भारतको स्वतन्त्रताको आन्दोलनमा गान्धी र भारतीय योद्दामात्रै नभई धेरै नेपाली नेताहरुले नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले भने, ‘भारतको आजादीमा नेपाल र नेपालीको पनि हिस्सा छ। त्यस्तै भारतको सुरक्षा प्रणालीमा पनि नेपाली जनताले साथ दिइरहेको मात्रै होइन, भारतको आर्थिक विकासमा पनि नेपाली जनताले दिएको योगदानको भारत र भारतीय जनताले विर्सन हुँदैन,’ निधिले भने। त्यसैगरी उनले नेपालको राजनीतिक परिवर्तन, आर्थिक विकासमा पनि भारतीय सहयोग रहेको तथ्य विर्सन नहुने बताए। भारतले अंग्रेज शासनबाट मुक्ति नपाएसम्म नेपाललीले राणा शासनबाट मुक्त हुन सक्दैन भन्ने मान्यताकै आधारमा बीपी, मनमोहन अधिकारी, लगायतका नेताहरुले भारतीय स्वतन्त्रता आन्दोलनमा सहभागी भएको पनि निधिले दाबी गरे। साथै उनले ०७ सालको नेपालको राजनीतिक क्रान्ति अहिंसाको माध्यमबाट नभई बन्दुकको बलमा भएको कारण त्यो धेरै समय टिक्न नसकेको भएपनि पछिल्लो अहिंसात्मक शान्तिपूर्ण आन्दोलनबाट भएको परिवर्तन मात्रै टिकाउ बनेको दाबी गरे। नेपालीले गान्धीको वैचारिक भण्डारबाट सर्वधर्म समभावको धार्मिक स्वतन्त्रता, मानवबीचको समानता, आर्थिक विकास, विभेददेखि द्वन्द्दको समाधानका लागि पाठ लिन सिक्न जरुरी भएको निधिले बताए। उनले वर्तमान गठबन्धनमा रहेका दलहरुबीचको सहमति नहुँदा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता नपाएको बताउँदै यो साह्रै चिन्ताको विषय भएको बताए। अहिले सरकार गठन भएको ८१ दिन पुगेको बताउँदै भने, ‘अब धेरै दिन ढिलो गर्न सकिँदैन। सरकारले तत्काल पूर्णता दिन जरुरी छ।’ यसैगरी अबको डेढ वर्षभित्र तीन तहको चुनाव आउने बताउँदै सरकार पूर्णतामा नै अलमलमा परिरहेको सरकारको नेतृत्वदेखि गठबन्धनका नेताहरुको आगामी निर्वाचनमा के कस्तो निर्वाह गर्छन भन्ने विषयमा जनताले विवेचना गर्न थालेको भन्दै चिन्ता व्यक्त गरे। कांग्रेस नेता अर्जुननरसिंह केसीले गान्धी एक व्यक्तिको नाम नभई अहिंसात्मक चेतना र विवेकको समष्टिगत दर्शन भएको बताए। गान्धीले भारतमा र बीपीले नेपालमा आफ्नै दर्शनको प्रादुर्भाव गरेको भन्दै कसीले आधुनिक युगमा लोकतन्त्रिक शासन व्यवस्थामा शान्तिको विकल्प नभएको मात्र होइन, हिंसाको स्थान पनि नभएको बताए। अहिले विश्व परिवेशमा देखिएको नयाँ द्वन्द्धले निम्त्याएको चुनौतिलाई नेपाल, नेपाली र नेपाली कांग्रेसले गम्भीर रुपमा लिएर त्यसको सामना गर्न आवश्यक रहेको केसीले जोड दिए। साथै उनले देश संविधान र कानूनको आधारमा र पार्टी विधान र नीतिका आधारमा चल्नु पर्ने बताउँदै पार्टीलाई नेता प्रधान नभई विधि प्रधान बनाएर अघि बढ्नु पर्ने बताए। उनले पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै अहिले विधि, विधान विपरित गतिविधि गरेर पार्टीभित्र हिंसा मच्चाएको आरोप लगाए। कार्यक्रममा विनोद भट्टराईले गान्धी सर्वांग रुपमा अहिंसाका पूजारी थिए भने कृष्णप्रसाद भट्टाराई ‘पिता’ (सहभागिता, समावेशीता, पारदर्शीता, जवाफदेहीता)मा विश्वास गर्ने नेता रहेको कारण उनी आधा गान्धीवादी नेता थिए। जसको कारण नेपालको राजनीतिमा भट्टराईको गान्धीवादी अहिंसात्मक आन्दोलनकै माध्यमबाट परिवर्तन गर्न सफल भएको उनले दाबी गरे। पहिलो आमनिर्वाचनमा सिराहको मधेसी मतदातामाझबाट माधव रेग्मीलाई बीपी कोइरालाले टिकट दिएर वेदानन्द झाको जमानत जफत गराएको स्मरण गर्दै अहिले मधेसले कांग्रेसप्रति देखाएको अगाध माया र विश्वासको ऋण अहिले निधिलाई सभापति र प्रधानमन्त्री बनाएर चुक्ता गर्ने बेला आएको हो कि होइन भनि भट्टराईले प्रश्न गरे। अहिले नेपालको राजनीतिमा दलाल, माफिया र लुटतन्त्रलाई बढवा पाइरहेको अवस्थामा यसबाट मुक्त गराउन प्रमुख चुनौती रहेको उनले बताए। प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले महेन्द्रनारायण निधि, कृष्णप्रसाद भट्टराई, रामहरि जोशी जस्ता कांग्रेसका अग्रज नेताहरुले नेपालको राजनीतिक परिवर्तनका आन्दोलनमा शान्ति र अहिंसाकै बाटोबाट लोकतन्त्र स्थापना र स्थायी शान्ति कायम गर्न सकिन्छ भन्ने मान्यतालाई स्थापित गरेको बताउँदै निधि प्रतिस्ठानले यो कार्यक्रम आयोजना गरेको बताए।
प्रकाशित मिति: शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update