नेपाल–भारत सीमानाका बेलहिया खुलेको छ। कोरोना महामारीका कारण १८ महिनाअघि बन्द भएको यो नाका आइतबारदेखि खुलेको हो। १० चैत ०७६ देखि बन्द रहेको नाकाबाट अब सवारीसाधन सहजै आउन जान सक्नेछन्।
५ असोजकै मन्त्रिपरिषद् बैठकले नाका खुलाउने निर्णय गरे पनि जिल्ला प्रशासनमा पत्र नआएका कारण बन्द रहँदै आएको थियो। पत्र आएलगत्तै नाका खुलेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए। आइतबारदेखि नै भारतबाट आउने र नेपालबाट जाने सवारीसधान सहज रुपमा चल्न थालेका छन्।
नाका खुला भए पनि नेपाल आउने यात्रु र पर्यटकले भने स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ। प्रमुख जिल्ला अधिकारी तिवारीले नेपाली यात्रुको हकमा सीमामै सामान्य स्वास्थ्य परीक्षण गरिने र कोभिडको शंका लागे सीमामै एन्टीजेन परीक्षण गरिने बताए। एन्टीजेनमा पोजिटिभ देखिएकालाई पिसिआर परीक्षण गरेर नतिजाअनुसार व्यवस्थापन गर्ने उनले बताए।
भारतबाट नेपाल आउने यात्रु र पर्यटकले ७२ घण्टे पिसिआर रिपोर्ट देखाएपछि फाराम भरेर सहजै प्रवेश पाउँछन्। सीमामा भारतीयलाई पूर्ण खोप अनिवार्य छैन। तर, तेस्रो मुलुकका पर्यटकको हकमा ७२ घण्टे पिसिआर रिपोर्टसहित कोभिडविरुद्धको पूर्ण खोप लगाएको कागजात आवश्यक पर्ने प्रजिअ तिवारीले बताए।
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय