हिमाल दैनिक
सत्ता गठबन्धनमा रहेका चार राजनीतिक दलबीच मन्त्रिपरिषद विस्तारका लागि सहमतिको खाका टुंगिएको छ। तत्कालिन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको आदेशसँगै बालकोटको बाटो लगाउँदै सरकारको नेतृत्व लिन पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी प्रमुख दलबीच मन्त्रालयको भागबण्डा मिलेसँगै सरकारले पूर्णता पाउने आशा जगाएको हो। सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालय भागबण्डा टुंग्याएको जानकारी प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले दिए। ‘नेताहरुबीचको बैठकले मन्त्रालयको भागबण्डा मिलायो, अब बिहिबार वा ढिलोमा शुक्रबारसम्म मन्त्रिपरिषदका नयाँ सदस्यहरुको नियुक्तिले पूर्णता पाउँछ,‘ देउवाले हिमाल दैनिकसँग कुरा गर्दै भने। अदालतको आदेशमा ओलीले विघटन गरेको प्रतिनिधि सभा पुनस्थापित भएलगत्तै असार २९ गते कांग्रेस सभापति तथा संसदीय दलका नेता देउवा नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका थिए। साउनको ३ गते बसेको प्रतिनिधि सभाको झण्डै दुई तिहाई बहुमतको समर्थन पाएका देउवाले झण्डै तीन महिनासम्म पनि मन्त्रिमण्डलको विस्तार गर्न नसकेपछि देउवाको चौतर्फी आलोचना सुरु भएको थियो। तर, त्यसबीचमा पूर्व एमाले नेता माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टी नेकपा एसदेखि उपेन्द्र यादवको जसपाभित्रको आन्तरिक विवाद व्यवस्थापनमा समय गुजारेका देउवाले अन्तःत मन्त्रालयको भागवण्डा मिलाउँदै सरकारलाई पूर्णता दिन लागेका हुन्। सरकारी स्रोतका अनुसार, हाल कायम रहेका २१ मन्त्रालयमध्ये माओवादी, नेकपा एस र जसपाको तर्फबाट पाँच पाँच जना मन्त्री र एक एक जना राज्यमन्त्री तथा कांग्रेसका लागि ६ मन्त्री र एक राज्यमन्त्री बनाउने सहमति जुटेको छ। यसअघि देउवाले आफ्नो नेतृत्वमा गठित मन्त्रिमण्डलमा कांग्रेसका तर्फबाट आफू बाहेक तीन मन्त्री र एक राज्यमन्त्री तथा माओवादीका तर्फबाट दुई मन्त्री गरी जम्मा सात जनाको टिम लिएर सत्ता सञ्चालन गरिरहेका थिए।
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update