हिमाल दैनिक
झण्डै तीन महिनापछि मन्त्रिपरिषदले पूर्णता पाउँदै, यी हुन् मन्त्रीहुनेहरू
PM-Sher-bdr-deuba
काठमाडौं। प्रधानमन्त्रीमा नियुक्त भएको करिब तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका हुन्। सत्ता गठबन्धन दलहरुबीच मन्त्रालयको भागवण्डामा सहमति जुटेसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका हुन्। प्रधानमन्त्री देउवाले गठबन्धन दलहरुसँग मन्त्रीको नाम आजै दिन भनेका छन् र नाम प्राप्त हुनासाथ मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ। ‘सबै विषयमा सहमति जुटिसकेकाले आजै मन्त्रिपरिषदले पूर्णता पाउँछ,’ प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘मन्त्रिपरिषद विस्तारको तयारी भएको छ। आजै मन्त्रीहरुको सपथ हुन्छ।’ बिहीबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले मन्त्रीको टुंगो लगाएसँगै आजै सरकारलाई पूर्णता पाउने भएको हो। एकीकृत समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ मन्त्री र भवानी खापुङ राज्यमन्त्री हुने भएका छन्। खतिवडा सहरी विकास मन्त्री हुँदैछन्। मकवानपुरबाट निर्वाचित खतिवडा एकीकृत समाजवादीबाट मन्त्री हुनेमध्ये सबैभन्दा पुराना नेता हुन्। झाँक्रीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन्। विद्यार्थी आन्दोलनबाट स्थापित झाँक्री एकीकृत समाजवादीकी सचिवसमेत हुन्। नेकपा एमालेमा अन्तरसंघर्ष हुँदादेखि पार्टी गठनसम्म झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन्। आलेले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। आले २०७० सालमा समेत सांसद बनेका थिए। २०७७ पुस १० गते बनमन्त्री बनेका आले २०७८ जेठमा हटाइएका थिए। मन्त्रीबाट हटेपछि ओलीसँग असन्तुष्ट बनेका आलेले माधव नेपाललाई पार्टी विभाजनमा साथ दिएका हुन्। श्रेष्ठले श्रममन्त्रीको जिम्मेवारी पाउने भएका छन्। तनहुँबाट निर्वाचित सांसद श्रेष्ठ २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका हुन्। तेह्रथुमबाट निर्वाचित सांसद भवानी खापुङ राज्यमन्त्री बन्ने भएका छन्। उनको मन्त्रालय भने टुंगो लागिसकेको छैन। उनलाई स्वास्थ्य या पर्यटन राज्यमन्त्रीमध्ये एक बनाउने तयारी रहेको एकीकृत समाजवादीका एक नेताले बताए। नेकपा माओवादी केन्द्रले बुधबार नै मन्त्री बन्नेहरुको नाम टुंगो लगाइसकेको छ। माओवादी केन्द्रले थप तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको हो । जसमा देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशि श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । यसअघि माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसाल मन्त्री बनिसकेका छन् । माओवादीले बुधबार टुंगो लगाएका व्यक्तिहरु पहिलोपटक मन्त्री बन्न लागेका हुन् । पौडेल स्थायी समितिका सदस्य हुन् । उनी बागलुङ २ बाट निर्वाचित भएका सांसद हुन् । यसअघि २०६८ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए पौडेल । यस्तै शशी श्रेष्ठ प्रतिनिधिसभा राज्य व्यवस्था समितिकी सभापति हुन् । उनी समानुपातिकबाट निर्वाचित सांसद हुन् । पार्टी केन्द्रीय सदस्य हुन् श्रेष्ठ । गहतराज बाँके १ बाट निर्वाचित सांसद हुन् । उनी माओवादी केन्द्रीय सदस्य हुन् । धनुषाकी बोधमाया पनि केन्द्रीय सदस्य हुन् । उनी समानुपातिकबाट सांसद छिन् । उनी माओवादीले सशस्त्र विद्रोह सुरु गर्नु अघि नै हत्या गरिएका रामवृक्ष यादवका छोरी हुन्। जनता समाजवादी पार्टी (जसपा)ले पनि लगभग मन्त्रीको टुंगो लगाएको छ। अध्यक्ष उपेन्द्र यादव भने सरकारमा नजाने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्री नराख्ने भएपछि यादव सरकारमा नजाने भएका हुन्। यादव नजाने भएसँगै जसपाका नेताहरूबीच मन्त्रिमण्डलमा पठाउने मन्त्रीहरूको नाममा अनौपचारिक सहमति भएको छ। जसपाका एक नेताका अनुसार राजेन्द्र श्रेष्ठ, रामसहायप्रसाद यादव, रेणु यादव र प्रमोद शाह छन्। उनीहरूले पाउने मन्त्रालयको टुंगो भने लागेको छैन। गठबन्धनका दलहरूबीच जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपंक्षी, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण मन्त्रालय पाउने सहमति भएको छ। नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा० भने आन्तरिक छलफलमा छन्। कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले पाँच मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति यसअघि नै जुटिसकेको छ।  दलहरूबीच बिहीबार पनि छलफल भएको थियो। देउवा २९ असारमा प्रधानमन्त्री बनेका थिए।
प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update