हिमाल दैनिक
बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र घाइतेहरूको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
pradhanmantri-karyalay-pmo
सरकारले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई राहत दिने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो । बैठकले परिवारको एक जनामात्रै मृत्यु भएको अवस्थामा प्रतिपरिवार २ लाख रुपैयाँ र एकजना भन्दा धेरैको मृत्यु भएको भए प्रतिव्यक्ति थप १ लाखका दरले एकद्वार नीतिबाट राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । त्यस्तै बाढीपहिरोबाट प्रभावित भइ आवास वा खाद्यान्नबाट बञ्चित हुन पुगेको परिवार मध्ये ५ जनासम्मको परिवारलाई १५ हजार र सो भन्दा बढि संख्या भएको परिवारलाई २० हजार नगद तत्काल उपलव्ध गराउने निर्णय बैठकले गरेको छ । यस्तै बाढीपहिरोमा परी घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने र अवरुद्ध सडक, विद्युत् र सञ्चारलाई सुचारु गर्ने निर्णय गरेको उनले बताए । बिपत व्यवस्थापन कोषमा आवश्यक रकम उपलव्ध गराई सञ्चालनमा ल्याउने निर्णय पनि बैठकले गरेको छ । बिपत प्रभावित क्षेत्रमा रोग फैलान नदिन सतर्कता अपनाउने र समय समयमा जारी हुने मौसम पूर्वानुमान सम्बन्धी सूचना प्रवाह गर्ने निर्णय बैठकले गरेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update