हिमाल दैनिक
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबानबाट हराइरहेकाको उद्धार, प्रभावितलाई राहत तथा घरबारविहीनको पुनःस्थापनामा लाग्न निर्देशन दिएका छन् । सिंहदरबारमा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आठौँ बैठकमा प्रधानमन्त्री देउवाले विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन अर्थ मन्त्रालयलाई समेत निर्देशन दिएका हुन् । बैठकमा अर्थ मन्त्रालयबाट बजेट व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता आएको छ । पैसा रकमान्तर गरेरै भए पनि राहत, उद्धार तथा पुनःस्थापनामा परिचालन गरिने जनाइएको छ । परिषद् बैठकले हराइरहेकाको खोजी गरी उद्धार, राहत तथा पुनःस्थापना कार्यक्रमलाई तीव्रता दिने निर्णय पनि गरेको परिषद्का सदस्यसचिव तथा विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार धेरै धानबालीसमेत नष्ट भएकाले प्रारम्भिक क्षतिको आकलन गरी किसानलाई राहत दिने निर्णय पनि गरिएको छ । क्षतिको विवरण सङ्कलन गरेपछि मात्रै राहत कति दिने भन्ने निर्णय गरिने उनले जानकारी दिए । विवरण सङ्कलनको जिम्मा कृषि मन्त्रालयलाई दिइएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update