हिमाल दैनिक
नेकपा (एमाले) ले पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । बिहीबार ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म चितवनमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बिष्णु रिमाल, काशिनाथ अधिकारी, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल छन् । उनले भने, ‘आजको बैठकले पार्टीका १० औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको छ। महाधिवेशनको व्यवस्थापनका लागि पार्टीका स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरिएको छ। उक्त कमिटीमा कमरेडहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा. राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलसहित ७ वटै प्रदेशबाट वटै प्रदेशबाट १-१ जना प्रतिनिधिहरू र सम्पर्क समन्वय कमिटीबाट समेत १ जना प्रतिनिधि रहनु हुनेछ। मूल व्यवस्थापन कमिटी २१ सदस्यीय हुनेछ।’ समितिमा ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक/एक जना प्रतिनिधि रहने ज्ञवालीले जानकारी दिए । बैठकले हालै सम्पन्न बिधान महाविधेशनको समिक्षा गर्दै भव्य र ऐतिहासिक रहेको निष्कर्ष निकालेको उनले बताए । बिधान महाविधेशनले पार्टीमा भावनात्मक एकता र आत्मविश्वास कायम गर्न सफल भएको प्रवक्ता ज्ञवालीले बताए । उनले भने, ‘पार्टीको हालै सम्पन्न विधान महाधिवेशनको समिक्षा गरेको छ। र बैठकले उक्त महाधिवेशन अत्यन्त भव्य, अत्यन्त ऐतिहासिक र सफल रहेको निष्कर्ष निकालेको छ। विचार र नीतिहरूमा सर्वसम्मति कायम भएको छ महाधिवेशनबाट। यो महाधिवेशनले पार्टी पंक्तिमा भावनात्मक एकता र आत्मविश्वासको एउटा ठूलो सन्देश सम्प्रेषित गरेको छ। र पार्टीमा एउटा नयाँ ऊर्जा यसले प्रदान गरेको छ। बैठकले महाधिवेशनलाई सफल पार्न ज-जसले सहयोग गर्नु भयो, उहाँहरु सबैलाई धन्यवाद ज्ञापन गर्ने काम गरेको छ।’ बैठकले अविरल बर्षाका कारण भएका बाढी पहिरो र डुवानका कारण जनधनको क्षति भएको प्रति दुख व्यक्त गर्दै उचित राहत र क्षतिपूर्ति बितरण गर्न सरकारको ध्यानाकर्षण गराएको उनले जानकारी दिए । त्यस्तै प्रवक्ता ज्ञवालीले सहमतिको १० बुदे प्रस्ताव कार्यान्वयन भइरहेको बताए । उनले सहमति कार्यान्वयनमा गइसकेको अवस्थामा अव पार्टी गतिविधिलाई अघि बढाउन अध्यक्ष केपी ओलीले आग्रह गरेको जानकारी दिए । त्यस्तै बैठकले सरकारले रेडक्रश र एनआरएन लगाएत सामाजिक संघसंस्थामाथि हस्तक्षेप गरेको भन्दै निन्दा गरेको र हस्तक्षेप तत्काल बन्द गर्न माग गरेको छ । स्थायी कमिटी बैठक शुक्रबार दिउँसो २ बजे पुन बस्ने छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update