विराटनगर–विराटनगर विमानस्थल तीन दिनपछि आज शनिबारदेखि सञ्चालनमा आउने भएको छ। विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि बन्द विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणले बिहानदेखि साँझ ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको हो । तत्कालका लागि भीएफआर उडान मात्र हुनेछ ।
उपकरणको परीक्षणपश्चात आइएफआर उडान हुने जनाइएको छ । दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आउने भएको हो । हाललाई रात्रिकालीन उडान हुनेछैन ।
विमानस्थल जलमग्न भएपछि यही कात्तिक ३ गतेदेखि नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो । वर्षाबाट काठमाडौँ–विराटनगर उडान प्रभावित भएको थियो । नियमित उडानका सबै एयरलाइन्सले उडान रद्द गरेका थिए ।
स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरियालगायतका स्थान डुबानमा परेका थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय