हिमाल दैनिक
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढीपीडितलाई तत्काल राहतको व्यवस्था गरिनुपर्ने बताएका छन् । कैलालीको टीकापुरमा आज आयोजित एक कार्यक्रममा उनले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गरिनुपर्ने बताएका हुन् । “बाढीका कारण कैलालीको पूर्वी क्षेत्रमा धेरै ठूलो क्षति पु¥याएको रहेछ । जुन मैले स्थलगत निरीक्षणका क्रममा देख्न पाएँ”, उनले भने, “अहिलेका अवस्थामा तत्काल अल्पकालीन राहत र पछि योजनाका साथ दीर्घकालीन राहतको व्यवस्थाका लागि म सरकारसँग माग गर्दछु ।” वरिष्ठ नेता पौडेलले कर्णाली र मोहना नदीका कारण टीकापुर उच्च जोखिममा रहेको उल्लेख गर्दै त्यसको दीर्घकालीन समाधानको बाटो खोज्नका लागि पनि सरकारसँग छलफल गर्ने बताए । “कर्णाली र मोहना नदीलाई अहिलेको नयाँ डिजाइनबाट बाँध्न आवश्यक छ । त्यसका लागि विज्ञ टोली बनाएर अनुसन्धान गरिनुपर्छ”, उनले भने, “जबसम्म कर्णाली र मोहना नदीको समस्या समाधान हुँदैन, तबसम्म बाढी र डुबानको जोखिम कम हुने स्थिति पनि छैन ।” वरिष्ठ नेता पौडेलले यही कात्तिक १ गतेदेखि आएको बाढीका कारण कैलालीको विभिन्न ठाउँमा भएको क्षतिको स्थलगत निरीक्षण गरेका छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update