हिमाल दैनिक
आज सर्वाेच्चको 'फुल कोर्ट', १४ न्यायाधीशले बहिष्कार गर्ने
supreme_coruts_HBtRplN4X4
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज (सोमबार) सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग भएको छलफलपछि प्रधानन्यायाधीश आज फुलकोर्ट बोलाउन तयार भएका हुन् । प्रधानन्यायाधीशले मिडियामा आएका विभिन्न शंका, उपशंका, चर्चा परिचर्चा, टिप्पणी सबै विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यो विषय फुलकोर्टमा राख्ने जानकारी गराएको बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।
जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएपनि असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने भएका छन् । कार्यपालिकामा भाग खोज्ने प्रधानन्यायाधीशको शैलीप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतका १४ जना न्यायाधीशले पूर्ण बैठकमा नजाने निर्णय गरेका थिए । मन्त्रिपरिषद्‍मा भागवण्डा लिएको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको आरोप जबरामाथि छ। न्यायाधीशहरूबीचकै बैठक सोमबार बिहान ११ बजे फेरि बस्दैछ। यद्यपि, न्यायाधीशहरूले इजलास भने बहिस्कार गर्ने छैनन्। आइतबारको बैठकमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत, आनन्द मोहन भट्टराई, सुष्मालता माथेमा, प्रकाश ढुंगाना, कुमार रेग्मी, हरि फुयाँल, बमकुमार श्रेष्ठ, टंक मोक्तान, मनोज शर्मा र नहकुल सुवेदी सहभागी भएका थिए। न्यायाधीशहरू अनिल सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र कुमार चुडाल उपत्यकाबाहिर छन् भने ईश्वरप्रसाद खतिवडा देशबाहिर रहेकाले उपस्थित हुन नसकेको बताइएको छ। प्रधानन्यायाधीश राणाले समग्र न्यायालय सुधारका विषयमा सोमबार सर्वोच्च अदालतका सबै न्यायाधीशसहितको पूर्ण बैठक बोलाएका छन्।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update