हिमाल दैनिक
अष्टलक्ष्मी शाक्यले दिईन मुख्यमन्त्री पदबाट राजिनामा
asta-laxmi-shakya
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा घोषणा गरेकी छिन् । बुधबार प्रदेशसभाको बैठकमा बोल्दै मुख्यमन्त्री शाक्यले राजीनामा घोषणा गरेकी हुन् । उनले प्रदेशसभामा विश्वास सम्बन्धी प्रस्ताव दर्ता गरेकी थिइन् । नेकपा एमालेको अल्मतको सरकार भए पनि केही विकासका कामहरू गरेको दाबी गर्दै उनले नेपालको संविधान १६९ (१) (क) अनुसार मैले आज मुख्मन्त्रीको नाताले मार्ग प्रशस्त गरेको बताईन । भदौ २ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको बैठकमा दलको नेताबाट राजीनामा दिएपछि बहुमत दलको आधारमा शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन् । भदौ २७ गते १३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि शाक्य अल्पमतमा परेकी थिइन् । मुख्यमन्त्री शाक्यले आगामी दिनमा बागमती प्रदेश सभामा मिलेरै अगाडी बढ्नका लागि राजीनामा दिनु नै राम्रो लागेको बताईन । नेकपा एमाले संसदीय दल, मन्त्रीहरू लगायत सबैको भावनाअनुसार आफूले पदबाट मार्ग प्रशस्त गरेको उनको भनाइ छ । सत्तापक्ष र विपक्षबीचमा परम्परागत सोच राखेर प्रदेशको विकास गर्न नसकिने भन्दै उनले बागमतीलाई नमुना प्रदेश बनाउनका लागि एकअर्कालाई सहयोग गरेर अगाडी बढ्नुपर्ने धारणा राखिन् । त्यस्तै मुख्यमन्त्री शाक्यले राजीनामा घोषणा गरेको केहीबेरमा प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा बुझाएकी छिन् । मुख्यमन्त्री शाक्यले राजीनामा बुझाएपछि बागमती प्रदेशमा अर्को सरकार गठनको बाटो खुलेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले बागमती प्रदेशमा अर्को सरकार गठनको तयारी गरेका छन् । उनीहरुले एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने निर्णय समेत गरेका छन् । १०९ सदस्यीय प्रदेशसभामा नेकपा एमालेको ५६ सांसद हुँदा भदौ २ गते एकल बहुमतको मुख्यमन्त्रीमा नियुक्त हुनु भएकी शाक्य पार्टी विभाजित भई नेकपा एकीकृत समाजवादी गठन भएपछि अल्पमतमा पर्नुभएको थियो । हाल प्रदेशसभामा एमालेको ४३ जना मात्रै सांसद छन् । बागमती प्रदेश सभाको अर्को बैठक सूचना जारी गरेर बोलाइने सभामुखले जानकारी दिए । शाक्यको राजीनामालगत्तै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका थिए।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update