हिमाल दैनिक
सरकारले बिभिन्न देशमा राजदूत नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतमा सिफारिस गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । बैठकले बैमोसमी बर्षाका कारण बाढी, पहिरो र डुवानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । बैठकले १० कठ्ठा भन्दा कम जग्गा भएका साना किसानलाई क्षतिको ६५ प्रतिशत, १० कठ्ठादेखि ३ विघासम्म जग्गा भएका मध्यम बर्गको किसानलाई क्षतिको ३० प्रतिशतसम्म र ३ विघादेखि बढी जग्गा भएका किसान अथवा आंशिक क्षति भएका किसानलाई क्षतिको २० प्रतिशत राहत दिने निर्णय भएको उनले बताए। धानको न्युनतम समर्थन मूल्य कायम गर्दा निर्धारण भएको उत्पादन लागतका आधारमा किसानले राहत पाउने प्रवक्ता कार्कीले जानकारी दिए । बैठकले महालेखा परिक्षकको कार्यालयमा रिक्त महालेखा परिक्षक राजपत्राङ्कीत बिशिष्ट श्रेणीमा महेश्वर काफ्ले र बामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई भारतका भ्रमका लागि स्वीकृत दिने र सेनाका उपरथी सरोज प्रताप राणालाई रथी पदमा बढुवा गर्ने निर्णय पनि भएको प्रवक्ता कार्कीले बताए । त्यस्तै बैठकले सुनकोशी मरिन डाइभरसनका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि भएको छ । त्यस्तै बैठकले बिहीबार मध्यरातीदेखि नै संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताइएको छ । भदौ २३ गते शुरू भएको चालू अधिवेशनको सवै बैठकमा प्रतिपक्षी एमालेले अवरोध गर्दै आएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update