हिमाल दैनिक
नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औं महाधिवेशन अन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ । आइतबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सात प्रदेशमा अधिवेशन गराउन केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिएको हो । प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, वाग्मतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदुरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोक्ने निर्णय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते तोकिएको छ । बैठकले पार्टी सभापति देउवाको संयोजकत्वमा महाधिवेशन तयारी मूल समिति पनि गठन गरेको छ । महाधिवेशनका लागि अर्थ संकलनका लागि सञ्चार मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ । भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डेलाई दिइएको छ । विदेशी पाहुना स्वागतका लागि प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको भने प्रचार संयोजकमा प्रवक्ता विश्वप्रकाश शर्मा रहेका छन् । बैठकमा नीति र नेतृत्व महाधिवेशन फरक–फरक गर्ने गरि महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव पेश गरेका छन् । प्रवक्ता शर्माले अहिले नेतृत्व महाधिवेशन गर्ने र अब आउने नेतृत्वले उचित समयमा नीति महाधिवेशन गर्नेबारे बैठकमा छलफल भएको जानकारी दिए । बैठकमा निर्वाचन समितिले गरेको महाधिवेशन कार्यतालिका हेरफेर गर्ने प्रस्ताव पनि बैठकमा पेश भएको शर्माले बताए । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा गर्ने तय भएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update