हिमाल दैनिक
कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्र स्तरीय अधिवेशन शुरु
congress-mahadhiveshan
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि प्रदेशसभा निर्वाचन क्षेत्र स्तरीय अधिवेशन शुरु भएको छ । हिमाली बाहेकका जिल्लाहरुमा शुक्रबारदेखि प्रदेशसभा स्तरीय नेतृत्व चयन शुरु भएको हो । तर सर्लाही, सिन्धुपाल्चोक र रसुवामा वडा स्तरमै समस्या रहेकाले ती जिल्लामा भने पछि अधिवेशन गरिने भएको छ । प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन शनिबारसम्म सम्पन्न हुने कांग्रेसले जनाएको छ । यस अधिवेशनबाट ३३० प्रदेशसभा निर्वाचन क्षेत्रका प्रत्येक क्षेत्रमा २७ जनाको कार्यसमिति चयन हुनेछ भने करीब ९ हजार पदाधिकारी चुनिने छन् । देशमा संघीय प्रणाली लागू भएपछि कांग्रेसले पहिलो पटक प्रदेशसभा स्तरीय अधिवेशन गरेको हो । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुनेछ । यस्तै मंसिर २४ देखि २६ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update