श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाइने बताएका छन् ।
वैदेशिक रोजगार बोर्डको सहयोगमा वैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिबद्धता’ विषयक अन्तरक्रियामा उनले वैदेशिक रोजगार क्षेत्रलाई बेथिती मुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने,‘अहिले वैदेशिक रोजगारमा सबभन्दा भाषा, भाषण, कस्तो मिठो छ, फ्रि भिसा, फ्रि टिकट, भन्दा त असाध्यै राम्रो हो। अब यसलाई कसरी व्यवस्थित गर्ने ? मैले यो भर्खरै फ्रि भिसा, फ्रि टिकट लागू क्यान्सिल गरिदिने हो भने बाहिरी विभिन्न स्यालहरू छन्, बस्न खान दिँदैनन्, सर्भिस चार्ज १० हजार भनिएको छ, यसमा जाने श्रमिक पनि ठगिएको छ, राज्यले लिने कर पनि लिन पाएको छैन, सरकार ठगिएको छ, श्रमिक ठगिएको छ। यस विषयमा छलफल गरेर केही निर्णय गर्दैछौं।'
त्यस्तै मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारीका लागि तोकिएको सेवा शुल्कभन्दा बाहिर ठूलो रकमको कारोबार हुने गरेको र त्यसबाट राज्य र श्रमिक दुवै पक्ष ठगिएकाले सेवा शुल्कका बारेमा पुनःविचार हुनुपर्ने बताए ।
कार्यक्रममा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक रानाले वैदेशिक रोजगार ऐन, विसं २०६४ लाई परिमार्जन गर्न र वैदेशिक रोजगारीबाट फर्केका कामदारको पुनःएकीकरणमा ध्यान दिन आग्रह गरे । पौरखी नेपाल संस्थाका मञ्जु गुरुङले घरेलु कामदारका रुपमा महिलामाथिको प्रतिबन्ध तत्काल खुला गर्नुपर्ने बताईन ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय