हिमाल दैनिक
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमालेलाई त्याग्नुपरेको बताएका छन् । धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजित सभामा अध्यक्ष नेपालले भने, “नेकपा एमाले विदेशीको दलालीमा लाग्यो । त्यसैले पुरानो घर त्यानुपरेको हो ।” अध्यक्ष नेपालले अहिले सत्य र न्यायका लागि नयाँ पार्टी गठन गरी अगाडि बढेको बताउँदै भने, “न्याय र सत्यको जित अवश्य हुनेछ ।” नेपालले आफू ५२ वर्षदेखि कम्युनिष्ट आन्दोलनमा लागेको उल्लेख गर्दै भन्नुभयो, “ठूला ठूला काम गरेका छौँ । राजाको शासन उखेलेर फाल्यौँ ।” उनले हिन्दी शैलीमा भने, “जो हमसे टकराएगा चुर चुर हो जाएगा ।” उनले आफूहरु प्रजातन्त्र, लोकतन्त्र, जनताको अधिकार र सम्मान तथा सत्य मर्यादाको पक्षमा उभिएको बताए । अध्यक्ष नेपालले नेकपा एकीकृत समाजावदीले जहिल्यै जनताको सुःख दुःखमा साथ दिने प्रतिबद्धता जनाए । कृषि क्षेत्रमा क्रान्ति र रोजगारी सिर्जना गरी सबैको जीवन राम्रो बनाउन आफूहरु लागि परेको उनको भनाइ थियो । कलम सत्यको पक्षमा उभिन्छ भन्दै चुनाव चिह्न कलम लिएर जनतामाझ आएको उनको भनाइ थियो । उनले अब पालिका, राष्ट्रियसभा, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने भन्दै चुनावमा जितेपछि जनताको काम गर्ने, सिँचाइ र मलखादको व्यवस्था गर्ने पनि बताए । नेपालले विरोधीले कान लिएर काग भाग्यो भनेपछि कागको पछाडि दौडिन नहुन कार्यकर्तालाई सुझाव दिँदै हिम्मत र बुलन्दीको साथ अगाडि बढेपछि जित हुने बताए । अध्यक्ष नेपालले गठबन्धन सरकारले राजनीतिक नियुक्तिको काममा ढिलाइ गरिरहेको बताए । उनले विभिन्न पार्टीको आ–आफ्नो कामको व्यस्तताले गर्दा सरकारको कामकाजमा पनि प्रभाव परिरहेको स्वीकार गरे । अध्यक्ष नेपालले राज्यसँग जोडिएका कामलाई सरकारले छिटोभन्दा छिटो गर्नुपर्नेतर्फ ध्यान पु¥याउन आवश्यक रहेको धारणा व्यक्त गरे । अर्को प्रसङ्गमा नेपालले राष्ट्रियसभामा गठबन्धनका सबैले साझा उम्मेदवार तय गरेर अगाडि बढ्ने बताए । उनले उपनिर्वाचनमा पनि पाँच दलीय गठबन्धन मिलेरै अगाडि बढ्ने विश्वास व्यक्त गरे । अध्यक्ष नेपालले मुलुकमा सङ्घीयता, लोकतन्त्र तथा समावेशीताको रक्षा गर्दै जनताको अधिकार स्थापित गराउनका लागि वर्तमान गठबन्धनको सरकार बनेको जिकिर गरे । गठबन्धन आउँदो चुनावसम्मै कायम रहने पनि नेपालले बताए ।  
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update