हिमाल दैनिक
राजनीतिक दलहरु जनताकाबीच जान डराए: अध्यक्ष ओली
kp-oli (2)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलहरु जनताकाबीच जान डराएको आरोप लगाएका छन् । चितवनमा पार्टीको दसौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रजातन्त्रको झ्याली पिट्ने राजनीतिक दलहरु जनताबीच जानै डराएको आरोप लगाएका हुन् । उनले देशमा विकासको लहर ल्याउन नेकपा एमाले चुनाबको तयारीमा लाग्ने उद्घोष गर्दै अबको चुनावमा एमालेले एकल बहुमत ल्याउने ठोकुवा गरे । अध्यक्ष ओलीले सामाजिक सद्भाव र सहअस्तित्वको पक्षमा नेकपा एमाले रहेकाले नेकपा एमालेको नीति विरोधको नीति नभएको तर्क गरे । उनले नेपालको स्वाधिनता रक्षाको निम्ति सधै नेकपा एमाले अग्रस्थानमा रहने जिकिर गरे । अध्यक्ष ओलीले उग्र वामपन्थ नभई व्यवहारिक रूपमा अग्रगामी परिवर्तन कसरी गर्न सकिन्छ भन्ने कुराको व्यवहारिक कार्यान्वयन गर्ने पार्टीको रूपमा नेकपा एमाले रहेको बताए । लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको नक्सा सार्वजनिक गरेको चर्चा गर्दै अध्यक्ष ओलीले नेपालको भूमि फिर्ता लिन संवाद र सहकार्य गर्न पछि नपर्ने बताए । एमाले अध्यक्ष ओलीले आफूलाई अप्ठ्यारा पार्नेहरूले नै प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समातिरहेको आरोप समेत लगाए । उनले नेकपा एमालेको सरकारले विभिन्न लोकप्रिय कार्यक्रम ल्याएको बताउँदै आफ्नो पार्टी देश बनाउने पार्टी भएकाले अन्य पार्टीहरुले डाहा गरेको तर्क गरे ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update