हिमाल दैनिक
नेपाली कांग्रेसको १४औं महाधिवेशनको तयारी अन्तरगत अहिले देशका अधिकांश जिल्लाको अधिवेशन सकिएर प्रदेश अधिवेशनको प्रक्रिया सुरु हुँदैछ। नयाँ संविधानले अंगिकार गरेको संघीयताको अवधारणालाई पहिलो पटक कांग्रेसले व्यवहारमा कार्यान्वयन गर्न सात प्रदेशमै कार्यकारी अधिकारसहितको प्रदेश संरचना गठन गर्दैछ। यसका लागि प्रदेश २ बाहेक अहिले बाँकी ६ प्रदेशमा प्रदेश कार्यसमिति निर्र्वाचनको कार्यतालिका केन्द्रीय निर्वाचन समितिले तय गरिसकेकोे पनि छ। जसअनुसार, अबको केही दिनभित्रै कांग्रेसका प्रदेश कार्यसमिति गठन हुनेछन्। पार्टीभित्र रहेको संस्थापन र संस्थापन इतर समूहबाट नेतृत्व लिने लिगलिगे दौड सुरु भइसकेको छ। जसको कारण कतिपय नेताहरुले सामाजिक सञ्जालमार्फत त कतिपयले पत्रकार सम्मेलनमार्फत नै प्रदेश सभापति, उपसभापति, महामन्त्री र सदस्य पदको उम्मेदवारी घोषणा गरिरहेका छन्।

कुन प्रदेशमा को अघि बढ्दैछ?

यसरी उम्मेदवारी घोषणा गर्ने क्रममा सभापति शेरबहादुर देउवा पक्षको बर्चश्व रहेको सुदूरपश्चिम प्रदेशमा अल्पमत पक्षले अहिलेसम्म कसलाई अघिसार्ने भनि टुंगो लगाउन त सकिरहेको छैन। प्रदेश तहकै नेताहरु पनि अगाडि देखिएका छैनन्। सभापति देउवाको बलियो पकड रहेको उक्त प्रदेशमा आन्तरिक विवाद मत्थर पार्न र सबैलाई मिलाउनका लागि सभापति देउवाको चाहना कांग्रेस केन्द्रीय सदस्य वीरबहादुर बलायरलाई प्रदेश सभापति बनाउनेमा रहेको स्रोतको दाबी छ। तर, बलायर भने एक पटक केन्द्रीय सभापतिमा सभापति देउवालाई जिताउनमै केन्द्रित हुने बाहेक आफूले यही चाहिन्छ भन्ने नरहेको बताउँछन्। विगतको अधिवेशनमा सभापति देउवाको समूह सबैभन्दा कमजोर रहेको कर्णाली प्रदेशमा यसपटक भने पासा पल्टिएको छ। विगतमा एकाध जिल्लामा जिल्ला सभापति र बहुमत महाधिवेशन प्रतिनिधि ल्याउन पनि धौधौ भएको उक्त समूहले यसपटक कर्णाली प्रदेशको अधिकांश जिल्लामा बलियो पकड जमाउँदै केन्द्रमा जस्तै प्रदेशमा पनि अल्पमत पक्षलाई धेरै नै मतले पछि पारेको छ। देउवा समूहको तर्फबाट स्थापित नेता जीवनबहादुर शाही प्रदेश मुख्यमन्त्री बनिसकेको अवस्थामा उक्त प्रदेशको सभापतिमा शाहीको चाहना र सम्भावना न्यून रहेको स्रोतको दावी छ। उनीपछि देउवा समूहको तर्फबाट निस्वार्थ भावले जाजरकोटको जिल्ला राजनीतिमा सक्रिय रहँदै आएका राजीवविक्रम शाह जसले जिल्ला अधिवेशन अघि नै प्रदेशको नेतृत्व लिने तयारी गर्दै आएका थिए उनैको सम्भावना बलियो रहेको बताइन्छ। तर, पछिल्लो समय जितको बलियोे आधार देखिएपछि गुट परिवर्तन गरी देउवा समूहमा आएका ललितजंग शाहीले पनि प्रदेशको सभापतिमा आँखा लगाइरहेका छन्। तर, कर्णाली प्रदेशको राजनीतिमा मात्र होइन, देशभरी गुटगत आधारमा जितहारको कटुता बढिरहेकै बेला जाजरकोटबाट पहिलो पटक सहमतिका आधारमा अधिवेशन सम्पन्न गर्न सफल राजीवविक्रम शाहलाई प्रदेश सभापति नबनाउँदा अन्याय हुने बुझाई कतिपय स्थानीय नेताहरुको छ। यसैगरी देउवा समूहले लुम्बिनी प्रदेशमा सांसद भरतकुमार शाहलाई अघि सारेको छ भने पार्टी नेता रामचन्द्र पौडेल समूहबाट रोल्पाका पूर्व सभापति अमरसिंह पुन मैदानमा उत्रँदैछन्। अघिल्लो अधिवेशनमा भन्दा तराइका जिल्लामा सुधार गरेको देउवा समूह जित हाँसिल गर्न जति उत्साहित छ, पहाडी जिल्लामा पकड जमाउन सफल पौडेल पक्ष पनि लुम्बिनीमा कब्जा जमाउन जोडतोडले लागिपरेको छ। उता, गण्डकी प्रदेशमा विगतमा कहिल्यै पकड जमाउन नसकेको देउवा समूहले यसपटक नेता पौडेलकै जिल्ला तनहुँदेखि कास्की, लम्जुङ, पर्वत, म्याग्दी जस्ता जिल्लाको नेतृत्व हाँसिल गर्न सफल भएपछि थप उत्साहित बनेको छ। देउवा समूहले उक्त प्रदेशमा केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई प्रदेश सभापति पदका लागि उम्मेवारी तय गरिसकेपनि गुटगत आधारमा धुजाधुजा बन्ने खतरामा रहेको अल्पमत पक्षले अहिलेसम्म कसलाई अघि सार्ने भनि टुंगो लगाउन सकिरहेको छैन। भलै चुनावी मैदानमा कास्कीका पूर्वसभापतिद्वय शुक्रराज शर्मा, यज्ञबहादुर थापादेखि तनहुँका रघुनाथ पौडेल, पूर्वीनवलपरासीका महेन्द्रध्वज जिसी, कास्कीकै देवराज चालिसेले पनि प्रदेश सभापति पदको उम्मेदवारी घोषणा गरेका छन्। तर, तनहुँ र कास्की जस्ता जिल्लामा बलियो पकड हुँदाहुँदै पनि एकआपसमा विभाजित हुँदै विरोधी खेमालाई नेतृत्व सुम्पिएको कास्की र तनहुँबाट प्रदेश पदाधिकारीमा कसैलाई अघि नबढाउने निश्कर्षमा पौडेल समूहका नेताहरु पुगेको बताइन्छ। त्यस्तो अवस्थामा गण्डकी प्रदेशको सभापतिमा देउवा समूहकै अर्जुनप्रसाद जोशी सबैभन्दा बलियो उम्मेदवार देखिएका छन्। संघीय राजधानी समेत रहेको वागमती प्रदेशमा पौडेल पक्षबाट नुवाकोटका जगदिश्वरनरसिंह केसी, काभ्रका मधु आचार्य, काठमाडौंका राजुराज जोशीले प्रदेश सभापतिमा दावी गरिरहेका छन्। सभापति देउवा समूहबाट सबैभन्दा अगाडि मकवानपुरका नेता तथा वागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानिया अगाडि देखिएका छन्। तर, केन्द्रीय अधिवेशनमा सहकार्यको निम्ति तयार देखिएका नेता कृष्णप्रसाद सिटौलाको तर्फबाट भीमसेनदास प्रधानको नाम अघि सारेपछि देउवाले सिटौलासँग कसरी सम्झौता गर्छन् त्यो हेर्न बाँकी नै छ। उता, प्रदेश १ मा पौडेल पक्षबाट सुनसरीका राजीव कोइरालाको दावी रहेको छ भने देउवा र सिटौलाबीच आपसी तालमेलमा कसलाई उम्मेदवार बनाउने हुन् अझै टुंगो लागेको छैन। देउवाको तर्फबाट मोरङका अमृत अर्यालको नाम प्रदेश सभापतिमा चर्चा भइरहेको भएपनि सिटौलाको तर्फबाट तारामान गुरुङको नाम पनि अघि सारिएपछि देउवा र सिटौलाबीच के कसरी सहमति हुन्छ त्यसका आधारमा प्रदेश १ र वागमती प्रदेश सभापति उम्मेवारको नाम टुंगो लाग्ने वताइन्छ।
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update