हिमाल दैनिक
गण्डकी प्रदेशलाई गुटरहित कांग्रेसको नमूना बनाउन चाहन्छुः प्रदेश सभापतिका उम्मेदवार जोशी
Untitled_design_1_-removebg-preview
नयाँ संविधान जारी भएको झण्डै ६ वर्षपछि पहिलो पटक नेपाली कांग्रेसले संघीय संरचनालाई आफ्नो पार्टी संगठनभित्र व्यवहारमा कार्यान्वयन गर्ने प्रक्रियामा अघि बढेको छ। विशेषगरी पार्टीको १४औँ महाधिवेशनको प्रक्रियामा रहेको कांग्रेसले अबको केही दिनभित्रै पार्टीको नयाँ प्रदेश समिति गठन गर्दैछ। पहिलो पटक गठन हुन लागेको नयाँ संरचनाको नेतृत्व लिन कतिपय नयाँ अनुहार मात्रै सलबलाइरहेका छैनन्। राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित सांसददेखि केन्द्रीय सदस्यकोे भूमिकामा लामो समय विताएका नेताहरु पनि मैदानमा उत्रिदैछन्। यसरी मैदानमा उत्रिनेहरुको सूचिमा विशेष चर्चाको केन्द्र बनेका छन्, पर्वतबाट केन्द्रीय राजनीतिमा स्थापित नेता अर्जुनप्रसाद जोेशी। उक्त पदका लागि कतिपय नेताहरुले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन्। तर, नेता जोेशीले भने कांग्रेस सभापति शेरबहादुर देउवाको साथ र समर्थनमा मंगलबारमात्रै प्रदेश राजधानी पोखरामा पार्टीका पूर्वमहामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाटदेखि उक्त प्रदेशका पुराना नेता, कार्यकर्ता र महाधिवेशन प्रतिनिधिको बाक्लो उपस्थितिमा आफ्नो उम्मेदवारी घोषणा गरे। प्रस्तुत छ उनै नेता जोेशीसँग हिमाल दैनिकले गरेको टेलिफोन वार्ताका आधारमा तयार पारिएको कुराकानीको सम्पादित अंशः पार्टीको केन्द्रीय सदस्य जस्तो पदमा रहेर राष्ट्रिय राजनीतिमा क्रियाशील व्यक्तिले अहिले प्रदेश सभापति पदमा उम्मेदवारी दिनुको कारण के होला? पार्टी केन्द्रीय सदस्यको रुपमा काम गर्दा मेरो कार्यकारी भूमिका भएन। पार्टी र पार्टीे संगठनलाई बलियो बनाउँन र जनताको प्रिय पार्टी बनाउँदै कांग्रेसको नेतृत्व स्थापित गर्नका लागि केन्द्रीय सदस्यको भूमिका त्यति प्रभावकारी भएन र हुन सकेन। यसका लागि आफैँ कार्यकारीमा रहेर पार्टीलाई जनता घरघरमा पुर्याउँदै यसलाई जनताको लोकप्रिय पार्टी बनाउने, देशको प्रमुख पार्टी बनाउने र अन्तर्राष्ट्रिय रुपमा पनि चर्चामा ल्याउन संगठन अझ बढी गर्न सक्छु भन्ने लागेर नै आफ्नो अभियान र एजेण्डालाई लागू गर्ने उद्देश्यका साथ केन्द्रीय सदस्य छाडेर प्रदेश सभापतिको पद र भूमिका रोजेको हुँ। अहिले जसरी गुट, उपगुट र गुटिकामा विभक्त भएर जसरी कांग्रेस क्षदबिक्षद भएको अवस्था छ त्यसलाई यहाँले नेतृत्वमा पुगेपछि पनि निरन्तरता नै दिनुहुन्छ अथवा त्यसलाई व्यवस्थापन गर्दै गुटगत विभाजनको दरारको दूरीलाई घटाउनु हुन्छ? यसका लागि यहाँसँग त्यस्तो के योजना छ? तपाईको प्रश्नको सुरुकै लाइनसँग मेरो असहमति छ। किन भने, गुटलाई निरन्तरता दिने अथवा गुटकै आधारमा राजनीति गर्नुपर्छ भन्ने कुराको म सख्त विरोधी हुँ। त्यही भएकोले गुटको राजनीतिलाई कायम राख्ने अथवा निरन्तरता दिने प्रश्नै रहेन। यदी छ भने पनि त्यसलाई समाप्तै गर्ने हो। त्यसैले यदी म प्रदेशको सभापति भएर कार्यकारी पदमा पुगेँ भने पार्टीमा जित्ने, हार्ने सबै नेता, कार्यकर्तालाई समेटेर अघि बढ्छु। सबै नेता, कार्यकर्ता र जनतको भावनाको प्रतिनिधित्व हुने वातावरण निर्माण गर्दै सबैलाई मेरो भूमिका पनि पार्टीमा त्यत्तिकै छ जत्ति जित्नेको छ भन्ने अनुभूति गराउँदै पार्टीलाई बलियो बनाउने जुन सोच छ, त्यसलाई कार्यान्वयन गर्नका लागि पनि म त्यो स्थानमा जान खोजेको हुँ। म त्यो ठाउँमा गइसकेपछि गण्डकी प्रदेशलाई गुटरहित राजनीति गर्न सकिन्छ भन्ने उदाहरणसहितको सन्देश देशभरी दिन चाहन्छु। चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रिएपछि कसले कसलाई मन पराउने, भोट दिने वा नदिने, अथवा कसै न कसैलाई भोट नहाली हुँदैन। एक न एक जनालाई त म दिनै पर्छ। गुटरहित राजनीतिक संगठन बनाउने भनेको कसैले पनि कसैलाई भोट नहाली बस्ने अवस्थाको परिकल्पना गर्ने कुरा होइन। तर, गुटकै आधारमा गुटबाहेक अन्यत्र नदेख्ने राजनीतिको अन्त्य अब गण्डकी प्रदेशबाटै सुरु भयो भन्ने उदाहरण देखाउँन म यही विन्दुबाट काम सुरु गरेर देखाउँछ। https://soundcloud.com/himal-dainik/jcppul8rbfng?si=07b242eaf48243ed8a48b15922e9200c अहिले गण्डकी प्रदेश सभापति पदको आकांक्षीका रुपमा यहाँसँगै राजनीति गर्दै आएका कतिपय नेताहरु पनि चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रने तयारीमा देखिएका छन्। यहाँले भोलिका दिनमा जुन उदाहरण देखाउँछु भन्दै हुनुहुन्छ, त्यसको प्रारम्भिक चरणका रुपमा अन्य आकांक्षीहरुलाई यसरी पार्टीभित्र मिलाएर, मिलेर जाउँ भन्ने कुनै पहलको थालनी गर्नु भएको छ त? हामीबीच अनौपचारिक कुराकानी त भइनैरहेका छन्। तर, अहिले एक व्यक्तिको चाहनाले मात्रै हुँदैन, सबैको सामूहिक प्रयत्नको आवश्यक पर्छ। अहिले जोजति आकांक्षीहरु देखिनु भएको छ, अरु पनि आउन र थपिन सक्नु होला। तर, उहाँहरु सबैसँग यसका लागि म विनम्र आग्रह र प्रयत्न पनि गर्छु। यो गण्डकी प्रदेशबाट राजनीतिक नेतृत्वमा रहनु भएका सबै नेताहरुसँग पनि आग्रह गर्छु। कि मेरो अभियान कांग्रेसभित्र कुनै गुट विशेषलार्ई बलियो बनाउने उद्देश्यमा केन्द्रीत छैन। सींगो कांग्रेसलाई एकजुट गराएर गण्डकी प्रदेशमा कांग्रेसलाई सक्षम र सबल कांग्रेस बनाउने लक्ष्यमा केन्द्रित छ र त्यसैका लागि मेरो उम्मेदवारी हो भनि नेतृत्व तहदेखि प्रतिस्पर्धाको मैदानमा आउनुहुने सबै साथीहरुसँग साथ र सहयोगका लागि आग्रह र अनुरोध गर्दछु। कांग्रेस जस्तो विशाल पार्टीमा हामी सबैैको भूमिका हुन्छ। अहिले जुन प्रदेशगत नयाँ संरचनाको निर्माण हुँदैछ त्यसमा विगतदेखि सबैले आफ्नो त्याग र योगदान पार्टीमा गर्दै आउनु भएको छ। तर, प्रदेशको नेतृत्वमा एक अवधिका लागि म रहेपनि पार्टी संगठनभित्र सबैको भूमिका र योगदान जरुरी छ। आउनुहोस् सबै मिलेर यो पार्टी संगठनलाई बलियो बनाउँ भन्ने आग्रह गर्दछु। तपाई प्रदेश सभापतिमा विजयी हुने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ? तपाईको चुनाव जित्ने आधारहरु के के हुन्? चुनाव जित्ने भनेको मतदाताको मतमा भर पर्छ। यो मैले यसै अहिले घोषणा गर्ने कुरा होइन। तर, मैले जब आफ्नो उम्मेदवारीको घोषणा गरेँ, त्यसपछिको माहौल हेर्दा ११ जिल्लाका अठ्ठार दुना छत्तिस प्रदेश निर्वाचन क्षेत्रकै महाधिवेशन प्रतिनिधि साथीहरु अधिकांशको सकारात्मक प्रतिक्रिया पाइरहेको छु। उहाँहरु सबैले नै मलाई विभिन्न माध्यमबाट तपाई नै अत्यन्त उपयुक्त पात्र हुनुहुन्छ। तपाईसँग लामो समयसम्म जिल्ला पार्टी सभापति भएर काम गरेको अनुभवदेखि सांसद र केन्द्रीय सदस्यको रुपमा सशक्त भूमिका निर्र्वाह गरेको अनुभव पछि छ भन्नु भएको छ। त्यसैले अहिलेको अवस्थामा प्रदेश संरचनाको पहिलो आधार खडा गर्दै जनतामाझ बलियो र सशक्त कांग्रेस बनाउनका लागि तपाइको आवश्यकता छ भन्ने विचारसहित अत्यन्त राम्रो साथ र समर्थन पाइरहेको छु। यसले मलाई उत्साहित र आशावादी बनाइरहेको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update