नेपाली कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा ललितजङ्ग शाही निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनबाट उनले प्रतिद्वन्द्वी भूपेन्द्रजङ्ग शाहीलाई १०५ मतान्तरले हराउँदै प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन्।
निर्वाचन समितिका अनुसार सभापति पदमा विजयी ललितजङ्गले ४२२, उनका प्रतिद्वन्द्वी भूपेन्द्रजङ्गले ३१७ र मोतीराज बमले सात मत प्राप्त गरेका थिए। सभापतिमा निर्वाचित जुम्ला निवासी ललितजङ्ग दोस्रो संविधानसभामा सदस्य थिए ।
कूल ७७१ मतदाता रहेको प्रदेश अधिवेशनमा ७५४ मत खसेको थियो भने आठ मत बदर भएको थियो । निर्वाचन समितिका सदस्य विवशकुमार बस्नेतले अन्य पदहरूको मतगणना जारी रहेको बताए । कांग्रेसको विधानमा प्रदेश कार्यसमितिको पदाधिकारीमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री पुरुषतर्फ दुई र महिलातर्फ एक निर्वाचित हुने व्यवस्था छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्