नेपाली कांग्रेसका सांसद तथा नेता भीमसेनदास प्रधानले वागमती प्रदेश सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई दोस्रो चरणको मतदानमा मत नदिएर अन्याय नगर्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसको शनिबार सम्पन्न वागमती प्रदेश कार्यसमितिको निर्र्वाचनमा बानियाँसँगै संस्थापन इतर समूहका उम्मेदवार जगदिश्वरनरसिंह केसीसँगै उम्मेदवार बनेर तेस्रो स्थानमा रहेका प्रधानले आइतबार हेटौँडामा एक कार्यक्रममार्फत लोकतान्त्रिक विधि र मान्यता अनुसार पनि सबैभन्दा बढी मत हाँसिल गरेका बानियाँ सभापति भइसकेको बताउँदै विधान बमोजिम ५० प्रतिशत मत कटाउन नसकेका नाउँमा दोस्रो चरणमा उनीमाथि अन्याय गर्न नहुने बताए।
सभापति शेरबहादुर देउवा समूहको उम्मेदवारका रुपमा मैदानमा उत्रिएका वागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बानियाँले शनिबारको निर्वाचनमा खसेको २०८३ मतको बहुमत नजिक पुगेर पहिलो भएपनि विधान बमोजिम ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुँदैछ।
आइतबार अपरान्ह सुरु भएको दोस्रो चरणको निर्वाचनमा बानियाँका निकटतम प्रतिद्वन्द्धी केसीबीचको प्रतिस्पर्धा हुनुअघि आइतबार बिहान तेस्रो स्थानमा रहेका प्रधानले आफूलाई मत दिनेदेखि अर्को पक्षका उम्मेदवारलाई मत दिने मतदातासम्मलाई बानियाँकै पक्षमा मत दिएर लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्न आग्रह गरे।
तेस्रो स्थानमा रहेका प्रधानको समर्थन पश्चात मात्रै ४२ मतको अभावमा सभापति हुन नसकेका बानियाँ र उनको पक्ष दोस्रो चरणको मतदानबाट निर्वाचित हुने विश्वास र भरोसा लिएर सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु महालक्ष्मी (डिना) उपाध्याय, बहादुरसिंह लामा, अम्बिका बस्नेतसहितका नेता कार्यकर्ता अहिले मैदानमा होमिएको छन्। उता, अल्पमत पक्षका नेता प्रकाशमान सिंह, युवा नेता गगनकुमार थापा, अर्जुननरसिंह केसी लगायतका नेताहरु पहिलो चरणमा भएको क्षतिपूर्ति केकसरी उपर गर्न सकिन्छ भनि लागिपरेका छन्।
शनिबार सम्पन्न कांग्रेसका ६ प्रदेशका अधिवेशनमध्ये हालसम्म कर्णाली र सुदूरपश्चिमबाट संस्थापन समूहका क्रमशः ललितजंग शाही र वीरबहादुर बलायर भारी मतअन्तरले प्रदेश सभापतिमा विजयी भएका छन् भने गण्डकी प्रदेशमा संस्थापन इतर समूहबाट कास्कीका पूर्व सभापति शुक्रराज शर्माको प्यानल विजयी भएको छ।
लुम्बिनी र प्रदेश १ मा मतगणना जारी रहेको छ भने प्रदेश २ का केही जिल्ला र क्षेत्रमा अधिवेशन हुन नसकेकोकारण प्रदेश अधिवेशनबाट नेतृत्व चयन प्रक्रिया अघि बढ्न सकेको छैन।
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय