हिमाल दैनिक
कांग्रेस १४ औं महाधिवेशन: प्रदेशको परिणामले देउवा उत्साहित विपक्षी मोर्चा निराश
nepali-congress-pradesh-sabhapati
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा अप्रत्यासित रुपमै बलियो बनेका छन् । हालै सम्पन्न सात प्रदेश मध्य ६ ओटा प्रदेशमा भएको अधिवेशनमा देउवा समुहले मात्रै तीन ओटा प्रदेशको नेतृत्व हात पारेको छ भने विगतदेखि नै कोइराला समूहको बर्चस्व कायम रहदै आएको १ नं प्रदेशमा देउवाकै साथ पाएर पार्टी नेता कृष्ण प्रसाद सिटौलाको उम्मेदवारले जित हासिल गरेका छन् । ६ ओटै प्रदेशमा गुटगत प्यानल बनाएर मैदानमा होमिएका संस्थापन र इतर पक्षबीच भएको प्रतिस्पर्धमा प्रदेश १ मा सिटौलाले अघि सारेका उद्धव थापाले पौडेल- कोइरालाको संयुक्त प्यानलका उम्मद्वार गुरु घिमिरेलाइ २ मतको झिनो मतले पराजित गर्दै रोमान्चक विजयी हासिल गरे । आज बिहान सकिएको मत परिणाममा थापाले ८४४ र घिमिरेले ८४२ मत ल्याएका छन् भने पदाधिकारीमा पनि एक सिटमा बाहेक सबैमा सिटमा देउवा समूहकै उम्मेदवारले जित हासिल गरेका छन् । यसै शनिबार भएको बागमती प्रदेशको दोश्री निर्वाचनमा देउवा समूहबाट उम्मेदवार बनेका इन्द्र बानियाँले विपक्षी उम्मेदवार जगदिश्वरनरसिंह केसीलाई अप्रत्यासित मत अन्तरले पराजित गर्दै सभापति बनेका छन् । यस अघि शुक्रबार भएको निर्वाचनमा भीमसेनदास प्रधान सहित मैदानमा उत्रिएका बानियाँ र केसी कसैले पनि ५० प्रतिशत मत हासिल गर्न नसकेपछि बानियाँ र केसीबीच दोश्रो चरणको निर्वाचन भएको थियो । जसमा पहिलो चरणबाट बहिरिएका भीमसेन प्रधानले बानियाँको पक्षमा मत दिन आग्रह गरेका थिए । शुक्रबारै सम्पन्न भएको कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा देउवा प्यानलकै क्रमश: ललितजंग शाही र विरबहादुर बलायरको प्यानलले राम्रै मतान्तरले विपक्षी गठबन्धनलाई पराजित गरेको थियो । उता लुम्बिनी प्रदेशमा भएको पछिल्लो मत परिणाम अनुसार विपक्षी गठबन्धनका अमरसिंह पुनले देउवा समूहका भारतकुमार शाहलाई ८५ मतको अन्तरमा पराजित गर्दै सभापति निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशका पदाधिकारीहरुको निर्वाचनमा उपसभापति पदका लागि देउवा समूहका राजु खनाल एक्लै छिर्न सफल भएका छन् भने बाँकी पदाधिकारीमा विपक्षी गठबन्धनका सबै उम्मेदवार बिजयी भएका छन् । यसैगरि शुक्रबार सम्पन्न गण्डकी प्रदेशको निर्वाचनमा बिपक्षी गठबन्धनका उम्मेदवार शुक्रराज शर्माले देउवा समूहका उम्मेदवार अर्जुन प्रसाद जोशीलाई पराजित गर्दै सभापति बनेका छन्। गण्डकीमा देउवा समूहबाट नेता गोपालमान सिंहका पुर्व स्वकीय सचिव तथा हालका गण्डकी प्रदेश सरकारका मन्त्री मेखलाल श्रेष्ठ मात्रै एक्लै उपसभापतिमा बिजयी भएका छन् । समग्रहमा ६ प्रदेशको निर्वाचनले देउवाको बिपक्षमा उभिएका गठबन्धनलाई थप निराश बनाएको छ। एक्लै जबर्जस्त रुपमा अघि बढेका देउवालाई भने सिटौलाको साथले आसन्न १४ औं महाधिवेशनमा सहज जीत निकाल्ने उत्साह र बिश्वास पलाएको छ । केहि जिल्ला र निर्वाचन क्षेत्रमा अधिवेशन हुन बाँकी रहेको प्रदेश २ मा प्रदेश अधिवेशनमार्फत नेतृत्व चयन हुन सकिरहेको छैन। उपसभापति बिमलेन्द्र निधिको गृह प्रदेशको रुपमा रहेको उक्त प्रदेशबाट प्राप्त विवरण अनुसार तराईका जिल्लाहरुमा पनि देउवा पक्षका महाधिवेशन प्रतिनिधिहरुको संख्या उल्लेखीय रहेको बताइन्छ। देउवा समूहको किङ्गमेकरका रुपमा दुई दशकदेखि सक्रिय रहदै आएका उपसभापति निधिले यस पटकको अधिवेशनमा आफु पनि सभापतिको प्रत्यासी बन्ने घोषणा गर्दै मैदानमा उत्रिएपछि देउवासंगको सम्बन्धमा चिसोपन आएको छ। देउवा र निधिबीचको दुरी बढेपछि त्यसको असर २ नं प्रदेशमा कति पर्छ अबको केहि दिनमा नै प्रष्ट हुनेछ ।
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update