हिमाल दैनिक
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो समूहभित्रै सभापतिका आकांक्षीहरुबीच सहमति कायम नभएपछि आफू राजनीतिक जीवन छाडेर पाटीबाटै अलग हुने धम्की दिएका छन्। आसन्न महाधिवेशनमा पार्टीभित्रको अल्पमत पक्षबाट साझा उम्मदवार चयको विषयमा छलफल गर्न नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बुधबार बसेको संस्थापन इतर समूहका नेताहरुको बैठकमा आकांक्षीहरुबीच एकल उम्मेदवार तय गर्नेबारे सहमति हुन नसकेपछि यस्तो धम्की दिएका हुन्। उक्त समूहका तर्फबाट निर्वाचित वर्तमान तथा निवर्तमान जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधिहरुसँग बिहान अनुपम फुडल्याण्डमा छलफल गरेपछि अपरान्ह चाक्सीबारीमा भेला भएका महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, शेखर कोइरालासहित इतर समूहका केन्द्रीय सदस्यहरुको बैठकमा नेता सिंह र शेखर कोइरालाले दुबैले सभापतिको दाबेदारी नछोडेपछि नेता पौडेल आक्रोसित बनेका थिए। साँझसम्मको छलफलमा पनि नेताहरुबीच कुरा नमिलेपनि बिहिबार बिहान पुनः छलफलमा जुट्ने भन्दै बैठकबाट बाहिरिने क्रममा नेता रामशरण महतले आफू सकेसम्म समग्र पार्टीभित्रै नेताहरु आपसी तिक्तता बढाउनेगरी अघि बढ्ने भन्दा सहमतिकै आधारमा नेतृत्व चयनको पक्षमा भएपनि अहिले आफ्नै एउटा समूहभित्रै सहमति नजुट्दा मिलेर अघि बढ्नसक्ने वातावरण बन्न नसकेको बताए। बैठकभित्र भएको छलफलको विषयमा जानकारी दिँदै महतले भने, ‘चारजना उम्मेदवारहरुमध्ये रामचन्द्रजीले मलाई छाडेर सहयोग गर्न भन्नु भयो। प्रकाशमानजी पनि लड्ने नै हो, म पनि लड्छु भनेको छ, शेखरजीले पनि लड्ने भनेको छ। अब यी लड्ने भए म राजनीतिबाट पनि विदा लिन्छु, पार्टीबाट पनि विदा लिन्छु र घरमै बस्छु, पार्टीबाट पनि अलग्गै हुन्छु, जेसुकै होस् भन्नु भयो।’ महतले अरु सबै आकांक्षीहरुले सहमति गरेर एक जनालाई उम्मेदवार बनाएर मिलेर जाउँ भनेको र यदी सिंह र कोइराला पनि एक आपसमा मिले आफूले पनि छाड्न तयार भएको तर, नभए आफूलाई स्वीकार्न भनिरहेको बताए। महतले नेताहरुबीचको तिब्र आकांक्षा र एकले अर्कोलाई स्वीकार गर्न नसक्ने अवस्थामा रहेकोले अहिले नै सहमतिमा एक उम्मेदवार बन्नसक्ने अवस्था नआइसकेको जानकारी दिँदै यसबारे भोलि पुनः बसेर थप प्रयास जारी राख्ने बताए। नेता महतले सहमतिका लागि घुमाउरो पारामा नेता पौडेलप्रति समर्थन जनाउँदै आफू सकेसम्म सबैले स्वीकार गर्न पनि सक्ने र सबै नेताहरु उपसभापति, महामन्त्री लगायतका पदमा अटाउन सक्नेगरी टिम बनाएर अघि बढ्न उपयुक्त हुने बताए। नेताहरुबीचको छलफलमा सहमति नभएपछि बाहिरिने क्रममा महतले पत्रकारहरुलाई पनि को नेतालाई अघि बढाउँदा उपयुक्त हुन्छ भन्ने गोप्य धारणासहितको सुझाव नेताहरलाई दिन आग्रह गरेका थिए। यसअघि इतर समूहबाट आफूले बाहेक अरु कुनै नेता उम्मेदवार भएपनि सभापति शेरबहादुर देउवालाई हराउन नसक्ने भन्दै आफू मात्रै सबैभन्दा बलियो उम्मेदवार भएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका महामन्त्री शशांक कोइरालाले मंगलबार एकाएक भाका बदल्दै आफू सभापतिको दाबी छाड्न तयार भएको बताएका थिए। शीर्ष नेताहरुबीच चाक्सीबारीमा भएको छलफलमा यदी सहमतिका लागि सबै तयार भएको खण्डमा आफू नेता पौडेललाई समर्थन दिएर सभापतिको दौडबाट बाहिरिन तयार भएको जानकारी दिएका थिए। महामन्त्री कोइरालाको समर्थनबाट उत्साहित बनेका नेता पौडेलले बुधबार राजधानीमा उपलब्ध पूर्व तथा वर्तमान सभापति र महाधिवेशन प्रतिनिधिहरुको भेलाबाट अपेक्षाकृत सुझाव र समर्थन नपाएपछि केही निराश बनेका थिए। तर, साँझसम्म बसेको छलफलमा विशेषगरी नेता प्रकाश र शेखरले कुनैपनि हालतमा सभापतिको चुनावी प्रतिस्पर्धाबाट बाहिर र एकले अर्को नेताको अस्थित्व स्वीकार्न तयार नदेखिएपछि विरक्तिएका पौडेलले पार्टी र राजनीतिबाटै अलग हुने धम्कि दिएका हुन्। बैठकमा सहभागी नेता चन्द्रकान्त भण्डारीले आफूहरुले सकेसम्म नेताहरुबीच नै सहमतिमा एक जनालाई सभापतिको उम्मेदवार बनाउन दबाब दिइरहेको र नभए आफूहरुले लोकतान्त्रिक विधि र पद्धतीमा विश्वास गर्ने विचार समूहको निर्णयबाट उम्मेदवार तय गरेर अघि बढ्नसक्ने जानकारी दिए। यसअघि विगत एक महिनाकोबीचमा कांग्रेसले देशभरीका वडा, स्थानीय तह, क्षेत्र, जिल्ला र प्रदेश तहको अधिवेशन गरी तहगत कार्यसमिति तथा महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ। यसरी आएका प्रतिनिधिहरुको संख्या र त्यसको माध्यमबाट बनेका तहगत कार्यसमितिको परिणामले सभापति देउवालाई नयाँ कार्यकालमा पुनः सभापति बन्न हौस्याएको छ भने प्रदेश तहको अधिवेशन परिणामले इतर पक्षलाई सशंकित र निराश बनाएको छ। शुक्रबारदेखि काठमाडौंमा सुरु हुन लागेको कांग्रेसको १४औं महाधिवेशनमा नँया नेतृत्वका लागि संस्थापन पक्षले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा उम्मेदवारहरुको प्यानल बनाएर अघि बढ्ने सहमति भइसकेको छ। यसका लागि उक्त समूहले केन्द्रीय पदाधिकारीदेखि सदस्यहरुको विभिन्न समूहबाट प्रतिनिधित्व हुनेगरी सूचि तय गर्ने प्रक्रिया सुरु गरिसकेको छ। यसैबीच महाधिवेशनको उद्घाटन सुरु हुनुअघि वर्तमान कार्यसमितिको सम्भवत अन्तिम बैठकको रुपमा सभापति देउवाले बिहिबार केन्द्रीय कार्य समितिको बैठक बोलाएका छन्।  
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update