नेपाली कांग्रेसको नयाँ सभापति बन्ने होडबाजीमा रहेको संस्थापन इतर समूहका नेताहरुबीच साझा उम्मेदवार बनाउनेबारे सहमति नभएपनि उक्त समूहबाट कम्तिमा २ जना उम्मेदवार मैदानमा उत्रने सम्भावना बलियो बन्दै गएको छ।
पार्टी नेता रामचन्द्र पौडेलले यसपटक आफूलाई सभापतिको उम्मेदवार स्वीकार गर्दै अन्य आकांक्षीहरुलाई अन्य पदमा मिलेर बस्न गरेको अनगिन्ती आग्रहलाई सुरुमा महामन्त्री शशांक कोइराला र पछि नेताद्वय प्रकाशमान सिंह र शेखर कोइराला तयार नभएपछि नेता पौडेल समूहका नेताहरुसँग रुष्ट बनेका छन्।
केही दिन अघिसम्म सभापति शेरबहादुर देउवालाई हराउन सक्ने एकमात्र व्यक्ति आफू भएको र अरुलाई देउवाले सहजै पराजित गर्ने सार्वजनिक अभिव्यक्ति दिँदैआएका महामन्त्री कोइरालाले तीन दिनअघिको वार्तामा सहमति गर्ने नै हो भने आफू नेता पौडेललाई सभापतिको उम्मेदवार मान्न तयार भएको बताउँदै प्रतिस्पर्धाको मैदानबाट बाहिरिने बताएका थिए।
महामन्त्री कोइरालाले आफूलाई सभापति मान्न तयार भएको अवस्थामा नेता प्रकाशमान र शेखरबीच एकअर्कालाई स्वीकार्न नसक्ने अनुमान गर्दै नेता पौडेलले महामन्त्री कोइरालाले आफूलाई सहमति जनाएपनि समूहबीच साझा उम्मेदवार बनाउने सवालमा प्रकाशमान र शेखरबीच सहमति भए आफूपनि पछि हट्न तयार भएको बताएका थिए।
तर, पौडेलको अनुमान विपरित प्रकाशमान र शेखरले कुनैपनि हालतमा एकअर्काको नेतृत्व स्वीकार्न तयार नभएर आफैँ चुनावी मैदानमा उत्रने अडान लिएपछि बुधबार साँझ चाक्सीबारीस्थित प्रकाशमानको घरमा बसेको गुटका नेताहरुको बैठकमा पौडेलले सहमति नगर्ने भए आफू पार्टी र राजनीतिबाट विदा लिएर घरै बस्ने भावुकतापूर्ण धम्की दिएका थिए।
यसका बाबजूद पनि बिहिबार दिनभर उक्त समूहका नेताहरुबीच सहमतिको प्रयास जारी रहेपनि नेता प्रकाशमानले अघिल्लो पटक पौडेल र शशांकलाई छाडेको कारण यसपटक आफू त्याग गर्न तयार नभएको मात्रै जानकारी दिएनन्। सहमतिका नाममा आफूलाई दाबी छाडेर सकेसम्म पौडेल र नभए एक कोइरालाकै नाममा अडान छोड्न भनेपछि आक्रोसित हुँदै ‘सधैँभरी गणेशमान सिंह र उनको परिवारले मात्रै त्याग गर्नुपर्ने कारण के छ?’ भनि प्रतिप्रश्न गरेको स्रोतले बतायो।
साथै उनले पार्टीको स्थापनाकालदेखि संस्थापक नेताको रुपमा गणेशमान सिंहको योगदान कोइराला वा अन्य कुनै नेताको भन्दा कम नभएपनि अवसर लिने कुरामा सधैँ त्यागको नाममा पछि पार्ने गरिएको भन्दै यसपटक आफू कुनै हालतमा पछि नहट्ने अडान लिएपछि उक्त समूहका नेताहरुबीच साझा उम्मेदवारी तय हुन सक्ने सम्भावना टरेको हो।
उनले अझैपनि शनिबार मनोनयनको समयसम्म गुटका नेताहरुबीच वार्ता गर्ने र सहमति खोज्न सक्ने अवस्था रहेपनि अहिले सहमति गरौँ भनेर समय गुजार्न भन्दा प्रचार प्रसारमा छाडिदिन भन्दै आफ्ना प्रचार प्रसारलाई तिब्रता दिएका छन्।
उता, अर्का आकांक्षी शेखर कोइरालाले बुधबार साँझ भएको वार्तामा पौडेलको भावकतापूर्ण अभिव्यक्तिका कारण प्रकाशमानले छाडे आफूपनि टिममा सहभागी भएर अघि बढ्न तयार भएको भनि प्रकासित समाचारको खण्डन गर्दै ‘एक पटक, यसैपटक’ नारासहित आफ्नो प्रचार प्रसारलाई तिब्रता दिएका छन्।
उक्त समूहका दोस्रो तहमा नेताहरुले यसका बाबजूद अझै पनि पौडेलको नेतृत्वमा प्रकाशमान र शेखरलाई उपसभापतिमा समेटेर संयुक्त प्यानल बनाउन सकिन्छ कि भनि प्रयास जारी राखेका छन्।
हालै सम्पन्न देशभरीको अधिवेशनबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरुको संख्या र आफ्नो समूहभित्र उपसभापति विमलेन्द्र निधिको बहिर्गमनका बाबजूद पनि मजबूद र एकल उम्मेदवार बन्दै गरेका सभापति शेरबहादर देउवालाई इतर समूहभित्रको चरमद्वन्द्धले थप उत्साहित बनाएको छ।
यसका बाबजूद सभापति देउवा र उनको समूहले २७ मंसिरमा हुने निर्वाचनको पहिलो चरणबाटै जित निकाल्ने रणनीतिका साथ नेता कृष्णप्रसाद सिटौलाको साथ लिएर हुन्छ कि इतर समूहबाट तितरवितर भएका नेता, कार्यकर्तालाई समेटेर हुन्छ परिणाम आफ्नो पक्षमा पार्ने तयारीमा जुटिरहेका छन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय