-भीष्मराज ओझा
नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् । उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका अतिथिले सम्बोधन गर्ने पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए । उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा तयार गरिएको छ । कोभिड-१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्तरूपमा आउने सहभागी मात्र उद्घाटनमा रहने उनले बताए । सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै ठाउँ बनाइएको छ । सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ । महाधिवेशनस्थलमा पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिङ्गारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागतद्वार राखिएको छ । यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ । यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन् । अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेका र उनीहरुका लागि आवश्यक महाधिवेशनसम्बन्धी विवरणसहित झोला वितरण गर्ने काम बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सुरु गरिसकेको पार्टी कार्यालयले जनाएको छ । महाधिवेशन प्रतिनिधिका लागि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपको बगैँचामा हुने र बासका लागि राजधानीका विभिन्न होटलमा व्यवस्था गरिएको छ । यसैगरी बन्दसत्र हुने भृकुटीमण्डपको हलमा पनि ठूलो मञ्च तयार हुनुका साथै हलभित्र पनि सातवटा डिस्प्ले राखिएको छ । महाधिवेशनमा नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारी साधनको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाइएको छ ।प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय