हिमाल दैनिक
पार्टी र गुटको बैठक छाडेर बसेका नेता पौडेललाई भेट्न कांग्रेसका ४ नेता बोहोराटार पुगे
RAMCHANDRA-POUDEL
नेपाली कांग्रेसको संस्थापन इतरका केही नेताहरु पार्टी र राजनीति छाड्छु भन्दै धम्क्याएर घरमै बसिरहेका नेता रामचन्द्र पौडेललाई मनाउन उनको निवास बोहोराटारमा पुगेका छन्। सभापति शेरबहादुर देउवाको विकल्पमा इतर समूहबाट साझा उम्मेदवार छान्न नसकेर तितर वितरको अवस्थामा पुगेको उक्त समूहका नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य र मीनेन्द्रप्रसाद रिजाल शुक्रबार बिहान पौडेल निवासमा पुगेका हुन्। उक्त समूहबाट साझा उम्मेदवार तय गर्ने विषयमा भएका अनगिन्ती वार्तामा नेताद्वय प्रकाशमान सिंह र शेखर कोइरालाले कसैलाई पनि नस्विकार्दै आफैँ सभापतिको उम्मेदवार बन्ने अडान लिएपछि इतर पक्षको साझा उम्मेदवार बनाउने योजनामा धक्का पुगेको थियो। विशेषगरी सभापति पदका मुख्य दाबेदार नेता पौडेललाई महामन्त्री शशांक कोइरालाको समर्थन हुँदा पनि सिंह र अर्का आकांक्षी शेखरले सहमतिमा आउन तयार नभएपछि बुधबार पार्टी र राजनीति नै छाडेर घर बस्ने धम्की पौडेलले दिएका थिए। यसरी धम्की दिएका नेता पौडेल बिहिबारको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा पनि अनुपस्थित रहेका थिए। पौडेल निकट स्रोतले आफ्नो समूहकै नेताहरुले पौडेलको अस्थित्व नस्विकारेपछि उनी रुष्ट बनेको र आजबाट सुरु हुने १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा पनि उपस्थित हुने वा नहुने टुंगो नभएको बताउन थालेका छन्। यसरी विरक्तिएर घरमा बसेका नेता पौडेलसँग इतर पक्षका केही नेताले वार्ता गरी अझै पनि साझा उम्मेदवार बनाउन सकिन्छ वा नेता सिंह सहमतिमा आउन तयार नभएको अवस्थामा शशांक, शेखर र पौडेलबीचको तालमेलमा एकलाई अघि बढाउन सकिन्छ भन्नेबारे आन्तरिक छलफल र सहमतिको प्रयास जारी भइरहेको बताएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update