नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी लोकतन्त्र र जनताको अधिकारका लागि सधैँ कांग्रेस र यसको सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताएका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको सफलताको शुभकामना दिन पुगेका ओलीले पार्टी विभाजन र सत्ता वहिर्गमन पश्चात पहिलो पटक नेकपा माओवादीका पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँगै एउटै मञ्च सेयर गर्न पुगेका ओलीले दाहाल र नेपालले गरेको व्यंग्यवाणको प्रतिवाद भने प्राविधिक कमजोरीका कारण गर्न भ्याएनन्।
उनले बोल्ने क्रमको सुरुमा आफू कसैले गरेको व्यंग्यको वादप्रतिवाद गर्न कांग्रेसको कार्यक्रम आवश्यक नभएको भन्दै उनीहरुलाई झटारो दिन भने छाडेनन्।
तर, आयोजकले प्रविधिमैत्री कार्यक्रमको हल्ला गर्दै गरेको कार्यक्रममा ओलीले बोल्ने क्रममा नै साउण्ड सिस्टममा खराबी आएपछि बिचमै केही नबोली ‘मैले शेरबहादुर देउवाजीलाई छाडिदिएँ’ भन्दै आफ्नो आशनमा गएर बसेका थिए।
त्यसपछि साउण्ड सिस्टम बनेपछि कार्यक्रम संचालकले पुनः ओलीलाई मन्तव्य राख्न आग्रह गरेपनि उनले छोटो र चोटिलो भाषण गरेर हिँडे।
असारको अन्त्यमा सर्वोच्च अदालतको परमादेश पश्चात सत्ताबाट बाहिरिएपछि सदन अवरुद्ध गर्दै सडकमा सरकार र अदालतका न्यायाधीशविरुद्ध चर्को विरोध गर्दै आएका ओलीले आफूहरु देशको लोकतन्त्र र जनताको स्वाभिमानका लागि आफ्नो पार्टी सधैँ तयार रहेको बताए।
‘देश बनाउने कार्य र योजनासँगै लोकतन्त्रको सवालमा सत्ता वा विपक्षमा जहाँ भएपनि साथमै रहने छ,’ उनले भने।
उनले यसका लागि कांग्रेसले सबैलाई साथ लिएर चल्न सुझाव दिँदै अरुका नीतिका लागि होइन आफ्नै नीतिमा चल्न जोड दिए।
उनले सभापति शेरबहादुर देउवालाई आफ्नो सहयात्री भएको बताउँदै उनलाई कांग्रेसको सभापति मात्र होइन सरकारको प्रधानमन्त्री पनि बन्न सुझाव दिए।
राप्रपा अध्यक्षले व्यक्त गरेको अभिव्यक्तिप्रति भने ओलीले भर्खर अध्यक्ष भएकोले त्यसको राप र तापले गर्दा राजेन्द्र लिङदेनमा यस्तोे अभिव्यक्ति आएको भन्दै, व्यंग्य गर्दै भने, ‘भर्खर भर्खर हिँड्न लागेको बाच्छो राम्रोसँग हिड्न जान्दैन।’ उनले राप्रपाका नयाँ अध्यक्षले विस्तारै काम गर्दै जाँदा अनुभवले परिपक्वता आउने बताए।
उनले माओवादी अध्यक्ष दहाल र नेकपा एसका नेता माधवकुमार नेपालको पार्टीले कांग्रेसको औँला समाएर अघि बढिरहेको भन्दै उनीहरुलाई कतै समातेर हिँडाउने होइन कि भन्ने त्रासमा रहेको आरोप लगाए।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय