हिमाल दैनिक
एकपटक फेरी सभापति बनाउनुहोस्, सबै तहमा कांग्रेसको सरकार बनाउने जिम्मा मेरोः देउवा
sher-bahadur-deuba
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी निर्वाचनमा तीन तहकै सरकार कांग्रेसको नेतृत्वमा बनाउन र जनतालाई भय, त्रासको वातावरणबाट मुक्त राख्न एक पटक आफूलाई पुनः सभापति बनाउन महाधिवेशन प्रतिनिधिसँग अपिल गरेका छन्। शुक्रबारदेखि सुरु भएको कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सबैभन्दा छोटो समय लिएर बोल्दै प्रधानमन्त्री तथा सभापति देउवाले विगतमा केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारको ज्यादतीलाई अन्त्य गर्न बनेको आफ्नो सरकारको निरन्तरता र आगामी चुनावमा कांग्रेसको सफलताका लागि पनि आफूलाई सभापति बनाइदिन आग्रह गरेका हुन्। ‘कांग्रेसको सरकार रहिरह्यो भने, स्थानीय सरकार कांग्रेसकै हुने छ। कांग्रेसको सरकार रहिरह्यो पनि संघीय सरकार पनि कांग्रेसकै रहिरहने छ। यसका लागि पनि यो अधिवेशनबाट पुनः सभापति बनाइदिनुहोस्,’ उनले भने। देउवाका चिरप्रतिस्पर्धीका रुपमा परिचित नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वको कार्यशैलीको विरोध गरेपछि सम्बोधनका लागि पुगेका देउवाले नेता पौडेलसँगै कार्यक्रम सञ्चालक प्रवक्ता विश्वप्रकाश शर्माप्रति पनि व्यंग्यवाण चलाए। अपरान्ह २ बजेदेखि चलेको कार्यक्रममा वक्ताहरुको सूचि र समय लामो हुँदा साँझ साढे छ बजिसक्दा राजधानीको चिसोमा धैर्यताका साथ बसिरहेका प्रतिनिधि तथा कार्यकर्तालाई सम्बोधन गर्न पुगेका देउवाले प्रवक्ता विश्वप्रकाश शर्मा आफैले अति लामो समय बोलेर समय गुजार्दा कार्यकर्तालाई चिसोमा बस्नु परेको भन्दै असन्तुष्टि व्यक्त मात्र गरेनन् माफी समेत मागे। यसका अतिरिक्त देउवाले आफू अघि बोल्ने क्रममा समय घर्किएको र चिसो बढेको अवस्थामा आफू लामो समय लिएर बोल्ने अवस्थामा नभएको भन्दै अलि केही बढी समय लिएर बोलेका नेता पौडेलप्रति व्यंग्य गर्दै भने, ‘रामचन्द्रजीले पनि चिसोको कारण धेरै बोल्न पनि सक्नु भएन।’ आफ्नो नेतृत्वमा बनेको सरकारको कामकारबाहीप्रति पौडेलले गरेको आलोचनाको प्रतिवादमा देउवाले सबै नेता, कार्यकर्ता र जनतालाई आफ्नो नेतृत्वमा सरकार बन्नु अघिल्लो दिनसम्म केपी ओली नेतृत्वको सरकारको कारण देशभरी व्याप्त भय र त्रासको स्मरण गर्न आग्रह गरे। ‘जुन दिन मेरो नेतृत्वमा सरकार बन्यो त्यो अघिको दिन कस्तो थियो, सम्झिनुहोस् त। ओली सरकारको शासनको त्रासमा बस्न बाध्य नेता, कार्यकता र जनताहरु मेरो नेतृत्वमा सरकार बनेपछि नै सबैले मुक्ति पाएको महसुस गरेका थिए। त्यो मुक्ति कायम गरी भय र त्रासमुक्त समाजमा स्वच्छ, निश्पक्ष वातावरणमा आगामी चुनाव गर्न र आगामी दिनमा गाउँ तहदेखि माथिसम्मै कांग्रेसको नेतृत्वमा सरकार बनाएर लोकतन्त्र र संविधानको रक्षा गर्न पनि यो महाधिवेशनले निर्णय गर्नु पर्छ,’ उनले भने। महाधिवेशन प्रतिनिधिहरु समक्ष पटक पटक आग्रह गर्दै सभापति देउवाले आफूलाई पुनः सभापतिमा निर्वाचन गरेर सरकारको स्थिरता दिएमा महाधिवेशनपछि हुने निर्वाचनमार्फत सबै तहको सरकार कांग्रेसको बनाउने जिम्मा आफूले लिने घोषणा गरे। उनले महाधिवेशनको प्रक्रियामा लोकतान्त्रिक प्रतिस्पर्धाबाट आउँदा जे जस्तो भएपनि अब यो भोलिदेखि हुने निर्वाचनको प्रक्रियाबाट आफूलाई एक पटक पार्टी नेतृत्वको जिम्मा दिएर सरकारको नेतृत्व गर्दै देश र जनतालाई कम्युनिष्टको डर र त्रासबाट मुक्त बनाई छाड्ने प्रतिबद्धता व्यक्त गरे। उनले दोहोर्याउँदै भने, ‘आगामी सरकार कांग्रेसको नेतृत्वमा आउँछ आउँछ। यसका लागि मलाई एक पटक मत दिनुहोस्, भोलिको सरकार कांग्रेसकै हुन्छ, जनताले भय र त्रासबाट मुक्त हुनेछन्।’
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update