हिमाल दैनिक
संस्थापन इतर समूहका शीर्ष नेताहरुबीच आज पनि भएन सहमति
poudel-pax
नेपाली कांग्रेसको संस्थापन इतर समूहका शीर्ष नेताहरुबीच सहमतिमार्फत साझा नेतृत्व चयन गर्नेबारे भएको अर्को प्रयास पनि असफल भएको छ। शुक्रबारदेखि सुरु भएको पार्टीको १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवारदेखि एकल टिम मैदानमा उतार्न उक्त समूहका नेताहरुबीच बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको वार्ता विना निश्कर्ष टुंगिएको हो। सभापति शेरबहादुर देउवालाई जसरी पनि हराउनु पर्छ भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएको उक्त समूहबाट पार्टी सभापतिको उम्मेदवारका आकांक्षीहरु नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताद्वय प्रकाशमान सिंह र शेखर कोइरालाबीच एक जनाको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा उत्रनेबारे सहमति खोज्न अधिवेशन उद्घाटन कार्यक्रम लगत्तै वार्ता भएको थियो। वार्तामा यसअघि महामन्त्री कोइरालाको समर्थन पाएका पौडेल उपस्थित भएर अरुलाई मनाउने कोशिश जारी राखेपनि नेताद्वय सिंह र शेखर कोइरालाले आफ्नो अडान नछाडेपछि साझा उम्मेदवार बनाउने प्रयासले सार्थकता नपाएको बैठकमा सहभागी एक नेताले बताए। यसका बाबजूद पनि उक्त समूहका शीर्षदेखि दोस्रो र तेस्रो तहका नेताहरु शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्ने समयअघिसम्म सहमतिको प्रयास जारी राख्ने र एकल उम्मेदवार बनाउने विश्वासमा जुटिरहेका छन्। तर, प्रकाशमान र शेखरको चट्टानी अडानका कारण नेता पौडेल र शशांक भने निराश बनेका छन्। विशेषगरी अघिल्लो अधिवेशनमा नेता पौडेल र शशांक कोइरालाका लागि साथ र समर्थन दिएका प्रकाशमानलाई अहिले पौडेल र कोइराला परिवारले साथ नदिएपछि उनी सभापतिको दौडबाट कुनै हालतमा पछि नहट्ने अडान लिँदै आएका छन्। उनको अडानले पौडेल र कोइराला परिवारसँगै उक्त समूहका अन्य नेता कार्यकर्ताहरु सिंहलाई छाडेर बाँकी तीनमध्ये एक नेता नेतृत्वमा चुनावी मैदानमा जानु पर्ने भन्दै नेतृत्वलाई दबाब दिइरहेका छन्। तर, नेता पौडेल भने इतर समूहबाट एक भन्दा बढी उम्मेदवार भएको खण्डमा आफू उम्मेदवार नबन्ने मात्र होइन, पार्टी र राजनीतिबाटै विदा हुने धम्की दिँदै आएका छन्। उता सभापति देउवा भने विगत लामो समयदेखि आफूसँग सहकार्य र सहयात्रा गर्दै आएका उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी घोषणा गर्दै मैदानमा उत्रिएपनि उनले पार्नसक्ने असरलाई केकसरी क्षतिपूर्ति गर्न सकिन्छ भन्ने गृहकार्यकासाथ चुनावी मैदानमा उत्रिएका छन्। देउवाले अहिलेसम्म कोइराला पक्षकै कुनै एक नेताको समूह वा कृष्णप्रसाद सिटौला कोसँग मिल्दा सहजै जित हाँसिल गर्न सकिन्छ भन्ने जोडघटाउ गर्दै अन्य पदाधिकारीको सूचि टुंग्याउने काम थातिराखेका छन्। स्रोतका अनुसार, सिटौला उपसभापतिमा चुनाव लड्न तयार नभएको अवस्थामा उपसभापतिमा देउवाले वर्तमान उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्कालाई उतार्नसक्ने सम्भावना रहेको छ। महामन्त्रीको उम्मेदवारका रुपमा सहमहामन्त्री प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाँड, संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद मुख्य दाबेदार देखिएपनि देउवाले महतलाई नै एक जना महामन्त्रीको उम्मेदवार बनाउन सक्ने सम्भावना बढेको बताइन्छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update