हिमाल दैनिक
हाम्रो अर्जुृन दृष्टि आउने निर्वाचनमा हुनुपर्दछः सहमहामन्त्री महत
dr ps mahat pic
नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको समग्र ध्यान आउने निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको समुद्घाटन समारोहलाई संबोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । “हाम्रो अर्जुृन दृष्टि आउने स्थानीय निर्वाचन,प्रदेश निर्वाचन र केन्द्रीय निर्वाचनमा हुनु पर्दछ ।” सहमहामन्त्री डा.महतले सम्बोधन गर्दै भन्नुभयो, “पार्टीलाई एक्लै बहुमत ल्याउने र लोकतान्त्रिक मूल्य मान्यतालाई स्थापित गर्दै कांग्रेस कै नेतृत्वमा देशलाई समृद्ध पार्नु पर्दछ । ” सहमहामन्त्री डा.महतले वि. पी. कोइरालाले प्रतिपादित गर्नुभएको लोकतान्त्रिक समाजवादको सिद्धान्तलाई ब्यबहारमा उतार्न पनि आग्रह गर्नुभयो । वि.पी.ले समृद्धि ल्याएर र समृद्धिको पहुँचमा आम जनता पुर्याउने जुन लक्ष्य लिनुभएको थियो, सोही अनुरुप नेपाली कांग्रेसले आफ्ना नीति र कार्यक्रम तय गर्नुपर्ने आवश्यकता पनि औल्याउनु भयो । सहमहामन्त्री डा. महतले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाउदै पार्टीलाई अझ सुदृढ बनाउनुभएको उल्लेख गर्नुभयो । उहाँले सभापति देउवाको कार्यकालमा पार्टीको क्रियाशील सदस्य झण्डै दोब्बर हुँदै १० लाख पुगेको बताउनुभयो । उहाँले यसपटक ठूलो संख्यामा युवा, महिला,आदिवासी,जनजाति समाहित भएको र मधेश पनि जोडिएको बताउनुभयो । डा.महतले १४ औं महाधिवेशनको प्रतिस्पर्धा आन्तरिक भएको उल्लेख गर्दै भन्नुभयो, “यो लोकतान्त्रिक पद्धतिको निरन्तरता र पार्टीको जिम्मेवारी लिने प्रतिस्पर्धा हो । परिणाम आएपछि यसको अन्त यही गर्नुपर्दछ ।” सहमहामन्त्री डा. महतले यस अधिवेशन पछि पार्टीभित्र गरिने सुधारको खाँका पनि प्रस्तुत गर्नुभएको छ । उहाँले नेताको अनुहार नहेरी कामको मूल्यांकन हुने पद्धति बसाइने पनि उल्लेख गर्नुभयो । उहाँले माथिदेखि तलसम्म एकै खालको प्रशिक्षण दिएर विचार र कार्यक्रम जनता बीचमा लगिने पनि बताउनुभयो । उहाँले पार्टीलाई गतिशील र आधुनिक तथा सुचना प्रविधिमा अब्बल हुने बनाइने पनि बताउनुभयो । उहाँले पार्टीका हरेक तह अद्यावधिक हुने र तत्काल रेस्पोन्स गर्ने ढंगको बनाइने पनि बताउनुभयो । मैले काम पाइन म काम गर्न चाहन्छु भनेर कार्यकर्ताबाट आउने गरेको गुनासोको पनि यस अधिवेशन पछि अन्त्य हुने बताउदै भन्नुभयो, “पार्टीले सबै तहका कार्यकर्तालाई काम दिने छ । काम पाइएन भन्ने अवस्थाको अन्त्य गरिनेछ । ” सहमहामन्त्री डा. महतले नेपाली कांग्रेसमा आफ्नो पार्टीले गरेका काम र पार्टी सरकारमा रहँदा सरकारबाट भएका कामको प्रचारप्रसार गर्ने पक्षमा भएको कमी कमजोरी सुधारिने बताउदै भन्नुभयो, “हामी काम गर्दछौ तर प्रचार गर्न सक्दैनौ अरु पार्टी कम काम गर्दछन् तर प्रचार बढी गर्दछन् । अरुको गफ बिकेको छ हामीले काम बिकाउन सकिरहेका छैनौ ।” डा.महतले आवश्यकता र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर परराष्ट्र नीति तय गरिने र विदेशी सहयोग लिने नीति अबलम्बन गरिने पनि उल्लेख गर्नुभयो । सहमहामन्त्री डा.महतले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्दै आर्थिक तथा सामाजिक विकास गरि स्वाभिमानी नेपाल निर्माण गरेर हरेक नेपालीलाई आफू नेपाली भएकोमा गर्व गर्न सक्ने अवस्थामा कांग्रेसले नै पुर्याउने दाबी पनि गर्नुभयो । हिमाल, पशुपति र लुम्बिनीका अलवा पनि नेपालीले लोकतान्त्रिक शासन पद्धति, शिक्षित, स्वस्थ र स्वाभिमानी भएकोमा गौरव गर्ने अवस्था सिर्जना गर्नुपर्ने आवश्यकता पनि उहाँले औल्याउनुभयो । डा.महतले नेपालले लोकतन्त्रको अभ्यास गरिरहेको तर लोकतान्त्रिक मूल्य र मान्यता जीवन पद्धतिको रुपमा स्थापित भैनसकेको उल्लेख गर्दै भन्नुभयो, “अन्य देशमा लोकतान्त्रिक अभ्यास आरम्भ भएपछि कम्युनिष्ट विचारधारा तिरस्कृत भएको छ तर हामीकहाँ प्रोपोगण्डाको आधारमा अझै टिकिरहेको छ ।” उहाँले यो महाधिवेशनले कांग्रेसलाई सम्पूर्ण नेपालीको साझा लोकतान्त्रिक पार्टीको रुपमा स्थापित गर्न सके सफल हुने बताउनुभयो । उहाँले यसपटक सदस्यता वितरणदेखि नै पारदर्शी र लोकतान्त्रिक पद्धति अबलम्बन गरिएको बताउदै भन्नुभयो, “वडादेखि स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचन हुँदै आएको छ । यस्तो पारदर्शी, ब्यापक र प्रतिस्पर्धात्मक निर्वाचन अन्यत्र छैन । यसलाई पद्धति र टिम वर्कको रुपमा लिए यसले अवसर सिर्जना गर्दछ अन्यथा चुनौति आउन सक्छ ।” उहाँले आउँदो चुनाव जितेर गर्वका साथ जनताको सेवा गर्ने अवसर नेपाली कांग्रेसले पाउन सकोस् भन्ने कामना पनि गर्नुभएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update