हिमाल दैनिक
देशकै सबैभन्दा पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेस सात दशक लामो इतिहासलाई कायम गर्न अहिले १४औं महाधिवेशनको महासंग्राममा होमिएको छ। विश्वभर फैलिएको कोरोना महामारीको त्रास र त्यसले पारेको सामाजिक, आर्थिक र राजनैतिक प्रभावलाई चिर्दै देशभित्र र बाहिरबाट उक्त पार्टीका झण्डै ४७ सय बढी महाधिवेशन प्रतिनिधिहरु शुक्रबारदेखि काठमाडौंमा भेला भइरहेका छन्। पार्टीले तय गरेको ‘उत्साह, एकता, रुपान्तरण, सफल बनाउँ १४औं महाधिवेशन’को नारासहित महाधिवेशन सुरु भएको छ। नारामा जेसुकै लेखिएको भएपनि कांग्रेसको इतिहासमा सम्भवत पहिलो पटक पार्टीको वैचारिक नीति, सिद्धान्त, आदर्श र भावी रणनीतिक कार्यदिशाको विषयसूचिमाथि महाधिवेशनको बन्दसत्रमा कुनै बहसको विषय प्रवेश नै हुने छैन। रुपान्तरणका नाममा पार्टीको केन्द्रीय नेतृत्व र कार्यसमिति चयन बाहेक केही पनि रुपान्तरण हुनेवाला छैन। किन भने, शुक्रबार सुरु भएको अधिवेशनको पहिलो दिन नै राती अबेरसम्म चलेको छोटो बन्दसत्रमा महामन्त्रीद्वयको राजनीतिक प्रतिवेदनका अतिरिक्त उपसभापति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको प्रतिवेदन तथा श्याम घिमिरेको लेखा परिक्षण प्रतिवेदन पेश गरी छलफल समेत टुंगिएको छ। यसबाहेक अन्य विषयमा नेता तथा महाधिवेशन प्रतिनिधिहरु छलफलमा भाग लिने भन्दा पनि नयाँ नेतृत्व चयनको प्रक्रियामा व्यस्त हुन थालिसकेका छन्। यसका लागि निर्वाचन समितिले आज बिहान ११ बजेपछि साँझ ५ बजेसम्म पार्टीका विभिन्न पदमा मनोनयन दर्ता प्रक्रियाको कार्यतालिका सार्वजनिक गरिसकेको छ। अहिले कांग्रेसको आगामी नेतृत्व कसको हातमा पुग्ला र पुर्याउनु पर्ला भनेर उक्त पार्टीभित्र मात्रै होइन, बाहिर पनि गम्भीर बहस र छलफलले चिस्सिँदै गएको काठमाडौंको माहोल तताइरहेको छ। यस्तो परिस्थितिमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको विधान बमोजिम पुनः दोस्रो कार्यकालका लागि ‘आवश्यकता, अनुभव र परिपक्वता सभापतिमा अब एकपटक देउवा’ भन्ने नाराका साथ नेतृत्व लिने तयारीमा छन्। जसको लागि देउवाले शुक्रबार सुरु भएको महाधिवेशन उद्घाटन कार्यक्रममै महाधिवेशन प्रतिनिधिहरु समक्ष पुनः एकपटक सभापति बनाइदिन अपिल गरे। उता, विगत तीन दशकदेखि पुरानो संस्थापन समूहको मियो कोइराला परिवारको सहयोगी र सेतुका रुपमा दोस्रो, तेस्रो वरियतामा रहँदै आएर अघिल्लो महाधिवेशनमा देउवासँग पराजित भएका नेता रामचन्द्र पौडेल पार्टी सभापति बन्न आत्तुर छन्। उनको उत्कट चाहना र हतारोमा भने स्वयं कोइराला परिवारका दुई उत्तराधिकारीहरु महामन्त्री शशांक कोइरालासँगै अर्का केन्द्रीय सदस्य शेखर कोइराला मात्र होइन, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहले आफूहरु पनि सभापति बन्ने दौडमा मैदानमा उत्रने हतारो देखाइदिँदा निराश बन्दैछन्। उता, सभापति देउवासँग लामो समयसम्म सहकार्य र सहयात्रा गर्दै देउवाको उपसभापति बनेका नेता विमलेन्द्र निधि डेढ वर्षदेखि आन्तरिक गृहकार्यमा व्यस्त छन् भने सधैँभरी कति पुरानो पुस्ताको अक्षमतालाई मात्रै कति कुरी बस्ने भन्दै केन्द्रीय सदस्य कल्याण गुरुङ पनि सभापतिको उम्मेदवारी घोषणा गर्दै एक्लै कुदिरहेका छन्। यसरी मैदानमा देखिएका आकांक्षीहरुमध्ये महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक रुझानका आधारमा देउवा व्यक्तिगत तथा सामूहिक रुपमै अग्रपंक्तिमा देखिएका छन् भने उनको विपक्षमा उभिँदै आएको संस्थापन इतर समूह उनको हाराहारीमा पुग्न कोशिश जारी राख्दै छ। यसरी मैदानमा देखिएका प्रत्यासीमध्ये महाधिवेशन प्रतिनिधिहरुमाझ कुन नेताको कस्तो पकड छ र कसको के योग्यता, क्षमता र आवश्यकता छ भन्नेबारे वस्तुनिष्ठ बहस र विवेचना मात्र जरुरी छैन, यसबारे महाधिवेशन प्रतिनिधिले अबको ६० घण्टाभित्र गम्भीर भएर सोच्न र पार्टीसँगै देश हितमा विवेकको प्रयोग आवश्यक छ।
प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update