हिमाल दैनिक
नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार बनाउने विषयमा सहमति कायम नभएपछि उक्त समूहका नेताहरु पनि तितरवितर हुने भएका छन्। पार्टी नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले एक अर्काप्रति सदभाव राख्दै सहमतिका लागि पछि हट्न तयार भएको स्पष्ट सन्देश दिँदा पनि नेताद्वय प्रकाशमान सिंह र शेखर कोइरालाले एक पटक, यसै पटक भन्दै सभापतिको उम्मेदवार आफैँ बन्ने अडान लिएपछि महामन्त्री कोइरालासँगै पौडेल सभापतिको चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्। विगत केही दिनदेखि सहमतिको प्रयास गर्दै नेताहरुको ढोका चाहर्दै आएका दोस्रो तहका नेताहरुले सिंह र शेखरको अडानका बाबजूद पनि पौडेललाई आफ्नो समूहको उम्मेदवार बनाउने कोशिश गर्दै शनिबार पौडेल निवासमा पुगेका थिए। तर, नेता पौडेलले साझा र एकल उम्मेदवार नभए आफू सभापतिको चुनावमा भाग नलिने भन्दै आफूसँग विगत लामो समयदेखि लागिपरेर आएका नेता, कार्यकर्तालाई समेत घरको न घाटको स्थितिमा बस्न बाध्य बनाइदिएका छन्। सहमतिको लागि वार्तामा आएका नेताहरुसँगै आफ्नो पछि लागेर हिँडिरहेका नेता कार्यकर्तालाई अब आफू कुनै पदमा चुनाव नलड्ने र नेता, कार्यकर्ताले पनि आफ्नो सुरक्षा आफैँ गर्नु भनेपछि पौडेलका नेता, कार्यकर्ता अन्यौलमा परेका हुन्। उता, सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका नेता सिंहले आफ्नो समूहमा कोइराला परिवारकै सदस्य सुजाता कोइरालालाई उपसभापतिको प्रत्यासी बनाउने तयारी गरिरहेका छन् भने इतर समूहकै नेताहरु बलबहादुर केसी, रामशरण महत, महेश आचार्य पनि उनैसँग जोडिने सम्भावना बढेर गएको छ। आफूलाई युवाहरुको सूचिमा राखेर पार्टीभित्र रुपान्तरणको नारा लगाउँदै आएका चर्चित सदस्यहरुमध्ये गगनकुमार थापा शेखर कोइरालाको समूहबाट महामन्त्रीको प्रत्यासी बन्ने सम्भावनासँगै सभापति देउवाको समूहमा महामन्त्रीको टिकट पाउने लक्षण नदेखेपछि प्रवक्ता विश्वप्रकाश शर्मा पनि सिंहसँगै टाँसिएर बस्ने सम्भावना पनि बढेको छ। प्रवक्ता भएदेखि नै सभापति देउवा र पार्टीको हितमा कम र आफ्नो व्यक्तिगत वृत्तिविकासमा दत्तचित्त भएर लागेका शर्माले केही समय अघिसम्मको देउवाको टिममा स्थान नपाए उपसभापति विमलेन्द्र निधिसँग मिलेर अघि बढ्ने आश्वासनका साथ आफ्नो गतिविधिलाई अघि बढाएका थिए। तर, महाधिवेशन प्रतिनिधिहरुको संख्या र रुझानलाई हेर्दै निधिको स्थितिमा सुधार नदेखेर पुनः देउवासँग स्थान बनाउने प्रयासरत शर्माले उक्त समूहमा नेता कृष्णप्रसाद सिटौलाको प्रवेशसँगै उनको सिफारिसमा प्रदिप पौडेलको सम्भावना बढेपछि उनले आफ्नो चरित्र र गुण अनुसार नै गुँड बदल्ने तयारीमा छन्।  
प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update