झण्डै सात दशकअघि नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला र उनको परिवारका सदस्य तत्कालिन सभापति मात्रिकाबीच भएको विभाजनलाई झल्को दिनेगरी उनको परिवारका सदस्यहरु फेरि विभाजित भएका छन्।
शुक्रबारदेखि सुरु भएको कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयनको प्रक्रियामा कोइराला परिवारकै एक सदस्य शेखर कोइरालाले संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार बन्ने अडान लिएपछि कोइराला परिवारकै अर्की नेतृ सुजाता कोइराला प्रकाशमान सिंहको नेतृत्वमा उपसभापतिको उम्मेदवार बन्न पुगिन्।
निर्वाचन समितिले तय गरेको कार्यतालिका अनुसार, शनिबार उम्मेदवारी दिने तयारीमा रहेका अर्का संस्थापक नेता गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिनुपूर्व उनको सम्पर्क कार्यालयमा पुगेर सुजाताले आफू लगायत सबै नेता, कार्यकर्ता सिंहको साथमा उभिनु पर्ने बताइन्।
संस्थापक इतर समूहबाट साझा उम्मेदवार तय गर्न विफल भएका नेता रामचन्द्र पौडेल चुनावी प्रतिस्पर्धाबाट अलग हुने घोषणासँगै महामन्त्री शशांक कोइराला मौन बसेका छन् भने सिंह र शेखर कोइराला सभापतिको उम्मेदवारी दिने तयारीमा छन्।
तर, सुजाता कोइरालाले प्रकाशमान सिंह गणेशमान सिंहको छोरा मात्र नभएर सबैले स्वीकार गर्न मिल्ने नेता भएको बताउँदै शशांक र शेखर पनि सिंहकै साथमा आउनु पर्नेमा जोड दिइन्।
सिंहले सभापतिसहितको प्यानलमा उम्मेदवारी दिने क्रममा पूर्व सभापति गिरिजाप्रसाद कोइराला पत्री सुजाताले उपसभापतिमा मनोनयन दर्ता गर्ने तयारीमा छिन्।
प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय