हिमाल दैनिक
थकित र निराश हुँदै पौडेलले भनेः मैले मैदान छाडेँ
266319033_449148756573990_449612858890480156_n
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट साझा उम्मेदवार बन्ने सम्भावना समाप्त भएपछि चुनावी मैदानबाट पाखा लागेको घोषणा गरेका छन्। संस्थापन इतर समूहका विभिन्न नेताहरुले सभापतिको उम्मेदवार बन्ने आकांक्षा राखेका गुटभित्रैका नेताहरुलाई मिलाउन गरेको अथक प्रयासले सार्थकता नपाएपछि उक्त समूहभित्र सबैभन्दा बलिया नेता पौडेल चुनावी प्रतिस्पर्धामा भाग नलिने घोषणा गर्न बाध्य भएका हुन्। इतर समूहकै नेता तथा महामन्त्री शशांक कोइरालाको साथ र समर्थन पाउँदा पनि अर्का नेताद्वय प्रकाशमान सिंह र शेखर कोइरालाले दावी नछाडेपछि सभापति बन्ने चाहनालाई मनभित्रै दबाएर पौडेलले विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन्। पार्टीभित्र र देशमा व्याप्त राजनीतिक अव्यवस्थाको अन्त्यका लागि आफूले गरेका प्रयासहरु विफल भएको भन्दै यसले पार्टी संस्थापक नेताहरुको आदर्श, मूल्य, मान्यता निरर्थक हुन लागेको आशंका व्यक्त गर्दै पार्टी राजनीति केबल सत्ताको भर्याङ बनाइएको आरोप लगाएका छन्। आफ्नै समूहका नेताहरुले साथ र समर्थन नदिएर सभापतिको रेसबाट बाहिरिएका पौडेलले आफ्नो राजनीतिक जीवनमा अनेक प्रपञ्च भोग्नु परेको भन्दै सभापतिको रेसबाट बाहिरिएपनि पार्टी र राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका रहिरहने विश्वास व्यक्त गरेका छन्। पौडेलले मैदान छाडेपछि इतर समूह तितरवितरको अवस्थामा पुगेको छ। आज हुने सभापति पदको मनोनयन प्रक्रियामा नेताद्वा प्रकाशमान सिंह कोइराला परिवारकी सदस्य सुजाता कोइरालालाई उपसभापतिको उम्मेदवार बनाउँदै मनोनयन दर्ताको तयारीमा छन्। उता शेखर कोइराला पनि गगन थापा लगायतका युवाहरुलाई आफ्नो टिममा राखेर मनोनयन दर्ता गर्ने गृहकार्यमा छन्।
प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update