हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १४औं महाधिवेशनबाट नयाँ कार्यसमितिको सभापति पदमा उम्मेदवारी दिन अपरान्ह राष्ट्रिय सभागृहमा पुगेका छन्। शुक्रबारदेखि सुरु भएको पार्टीको १४औं महाधिवेशनबाट चयन हुने नयाँ कार्यसमितिको सभापतिमा पुनः दोस्रो पटक सभापति बन्ने तयारीमा रहेका देउवा अपरान्ह साढे चारबजे आफ्नो समूहका नेताहरुको दलबलसहित निर्वाचन समिति रहेको सभागृहमा पुगेका थिए। पार्टीभित्र विगत चार दशकदेखि रहँदै आएको गुटगत समूह तितरवितर भएर नयाँ गुट, उपगुटमा विभक्त कांग्रेसभित्र सभापति देउवाले अर्का नेता कृष्णप्रसाद सिटौलाको साथ र समर्थनमा सबै पदाधिकारीसहितको नयाँ समूहका नेताहरुको सूचि लिएर गएका थिए। देउवा र सिटौलाबीच भएको आपसी सहमति बमोजिम, दुई उपसभापतिका प्रत्यासीमा वर्तमान उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्का तथा महामन्त्रीमा सहमहामन्त्री प्रकाशशरण महत र प्रदिप पौडेल तथा महिला सहमहामन्त्रीमा महालक्ष्मी (डिना) उपाध्याय लगायतका नेताहरुको सूचि रहेको छ। महामन्त्री पदका मुख्य आकांक्षीका रुपमा चर्चामा रहेका गृहमन्त्री बालकृष्ण खाँडले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गर्दै बाहिरिने क्रममा अघिल्लो अधिवेशनमा पनि सिटौलाले देउवालाई साथ दिएको र उनको योग्यता, क्षमताको आफूले सधै सम्मान गर्ने बताए। सभापति देउवाका प्रमुख सहयोगी खाँडलाई पछि पारेर सिटौलाले प्रदिप पौडेललाई महामन्त्री पदमा उम्मेदवार बनाएको विषयमा सोधिएको प्रतिक्रियामा खाँडले आफू पार्टीको इमान्दार सदस्य भएकोले सदस्यका रुपमा केन्द्रीय कार्यसमितिमै रहनु पनि ठूलो कुरा भएको बताए। नेतृत्वमा त पछि पर्नु भयो नि भन्ने प्रश्नको जवाफमा खाँडले भने, ‘म के हुँ र मेरो भूमिका के रहन्छ भन्ने आगामी १५औँ महाधिवेशनमा भेटिएछ भने देख्नु होला।
प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update