हिमाल दैनिक
देउवा र कोइराला प्यानलसहित, निधि र सिंह प्यानलबिहित नेतृत्व लिन मैदानमा उत्रिए
nepali -congress-sabhapati-ummedwar
शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ कार्यकालका लागि सभापति पदका लागि वर्तमान सभापति शेरबहादुर देउवासहित ६ जनाले मनोनयन दर्ता गरेका छन्। सभापति देउवा नेतृत्वको संस्थापन र नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरु सम्मिलित संस्थापन इतर समूहबीच नेतृत्वका आकांक्षीबीच भएका चरणबद्ध वार्ता र सहमतिका प्रयास विफल भएपछि पुरानो गुटगत संरचना भत्किएर नयाँ गुट, उपगुटको तर्फबाट पाँच जनाले सभापतिमा उम्मेदवारी दिएका हुन्। यसरी सभापति देउवाले पुनः दोस्रो कार्यकालका लागि पनि दाबी नछाडेर विधान बमोजिम उम्मेदवारी दर्ता गरेपछि उनीसँग रहँदै आएका उपसभापति विमलेन्द्र निधिले पनि मनोनयन दर्ता गरेका छन्। देउवाले अर्का नेता कृष्णप्रसाद सिटौलाको साथ र समर्थनमा प्यानल नै बनाएर उम्मेदवारी दिएका छन्। जसमा उपसभापतिमा वर्तमान उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्काले मनोनयन दर्ता गरेका छन् भने, महामन्त्रीमा सहमहामन्त्री प्रकशशरण महत र सिटौला निकट युवा नेता प्रदिप पौडेलको मनोनयन परेको छ। उता देउवालाई टक्कर दिने प्रतिबद्धताका साथ पौडेल समूहको विभाजित उपसमूहबाट नेता शेखर कोइरालाले सभापति पदका लागि प्यानलसहित मनोनयन दर्ता गरेका छन्। आफ्नो समूहबाट प्रकाशमान सिंहले कोइराला परिवारकी सदस्य सुजाता कोइरालालाई उपसभापतिको उम्मेदवार बनाउँदै सभापतिमा मनोनयन दर्ता गरेका छन्। उनको समूहबाट सुरुमा प्यानल नबनेपनि सभापति देउवाले पार्टी प्रवक्ता बनाएका विश्वप्रकाश शर्माले देउवाको टिममा स्थान नपाएपछि सिंहको प्यानलमा महामन्त्रीको रुपमा उभिएका छन्। शेखर कोइरालाले भने आफ्नो नेतृत्वमा प्यानलसहित मनोनयन दर्ता गर्ने क्रममा उपसभापतिमा चन्द्रकान्त भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा नेता मीनेन्द्रप्रसाद रिजाल र गगनकुमार थापा रहेका छन्। सहमहामन्त्रीको पदमा महिला तर्फ भने देउवा प्यानलको तर्फबाट महालक्ष्मी (डिना) उपाध्याय, जनजाति सहमहामन्त्री पदका लागि भिष्मराज आङदम्बे, मधेसी सहमहामन्त्रीमा महेन्द्र यादव, खस आर्यतर्फ किशोरसिंह राठौर, थारु कोटामा उमाकान्त चौधरी, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही र दलित तर्फ मानबहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन्। कोइरालाको प्यानलबाट भने, सहमहामन्त्रीको उम्मेदवारमा महिला तर्फ कमला पन्त, जनजातिमा विकास लामा, मधेसीतर्फ रामकृष्ण यादव, खसआर्यमा देवराज चालिसे, थारुमा तेजुलाल चौधरी, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, र दलितबाट जीवन परियारले मनोनयन दर्ता गरेका छन्। कांग्रेसको संशोधिन विधान अनुसार ठूलो संख्यामा समावेशी र खुला सदस्य पदका लागि पार्टीका केन्द्रीय नेतादेखि पहिलो पटक महाधिवेशन प्रतिनिधि बनेर आएका सदस्यहरुले मनोनयन दर्ता गरेपनि उनीहरुको नाम सार्वजनिक गरिएको छैन।
प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update