हिमाल दैनिक
महामन्त्री पदका उम्मेदवार प्रकाशशरण महतको प्रतिबद्धतापत्र सार्वजनिक
prakash-sharan-mahat
नेपाली कांग्रेसका महामन्त्रीका उम्मेद्वार डा. प्रकाश शरण महतले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट महामन्त्री पदमा उम्मेदवारी दिएका महतले आफ्नो ६ पृष्ठ लामो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै संगठन निर्माणलाई केन्द्रमा राखेका छन् । उनको प्रतिबद्धता पत्रमा संगठन निर्माण, केन्द्रीय कार्यालयको स्तरोन्नति र महामन्त्रीको भूमिका, भातृ तथा शुभेच्छुक संस्थाको गतिशीलता,युबा तथा महिलाहरुको सहभागिता, समाजवादी नीतिको मूल लक्ष्यः समृद्धि र समृद्धिको पहुँचमा आम जनता, धर्म संस्कृति संरक्षणका चार मन्त्र, परराष्ट्र सम्बन्धको मूल आधार: राष्ट्रहितमा आधारित विदेश नीति जस्ता विषयलाई समेटिएको छ । नेपाली कांग्रेसको विधानले महामन्त्रीलाई अधिकारसम्पन्न शक्तिशाली पदाधिकारीको रुपमा स्थापित गरेको छ । महतले आफ्नो प्रतिबद्धता पत्रमा महामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने ढंगले कार्यक्रम प्रस्तुत गरेका छन् । उनले विधानले दिएको जिम्मेवारी पूरा गर्न पार्टीको महामन्त्री पार्टी कार्यकर्ताको आवाज सुन्ने, पार्टी कार्यकर्ता र आम नागरिकबीच देखिने र कार्यकर्ताले चाहेको बखत भेटिने हुनुपर्ने र आफ्नो व्यवहार यसै अनुकूल हुने उल्लेख गरेका छन्। विधानले पार्टीको केन्द्रीय कार्यालयको सञ्चालन र रेखदेखसहित केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिहरूको निर्णय कार्यान्वयन गर्ने तथा गराउने भूमिका निर्दिष्ट गरेको छ । पार्टीको विधान अनुरुप पार्टीको संगठन संरचना, क्रियाशील र प्रभावकारी बनाउने, पार्टीका निकायहरूमा पार्टी सम्बन्धी गतिविधिबारे आवश्यकतानुसार सूचना प्रवाहित गर्ने, पार्टीका निर्णय तथा कार्यक्रमहरू कार्यान्वयन तथा सुपरीवेक्षण गर्ने तथा गराउने अधिकार पनि पार्टी महामन्त्रीमा निहित छ । यसैगरी पार्टीसम्बन्धी कार्यमा सभापतिको निर्देशानुसार प्रतिनिधि खटाउने वा समिति वा उपसमिति गठन गर्ने, केन्द्रीय कार्यसमिति, केन्द्रीय महासमिति र केन्द्रीय महाधिवेशनमा प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने, पार्टीका सबै प्रकारका आधिकारिक अभिलेखको संरक्षण गर्ने र गर्न लगाउने क्षेत्राधिकार पनि महामन्त्रीमा रहेको छ । केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय प्रमाणित गर्ने र पार्टी मातहतका निकायहरूलाई पार्टीको निर्णयको जानकारी गराउने तथा निर्देशन जारी गर्ने क्षेत्राधिकार पनि विधानले महामन्त्रीलाई प्रदान गरेको छ । विधानमा निर्दिष्ट गरिएका कार्यहरु प्रभावकारी रुपमा सम्पादन गर्न डा.महतले केन्द्रीय कार्यालयको स्तरोन्नति गरी केन्द्रीय सचिवालयलाई आधुनिक र कार्यमूलक बनाउने, पार्टीका सदस्यहरुको अभिलेख अद्यावधिक गर्ने,पार्टीका विभिन्न तहका कार्यसमिति र कार्यकर्ताहरुको सुझाव, सिफारिश र गुनासा सुनुवाई गरी तिनको उचित समाधान गर्ने उपयुक्त संयन्त्र तयार गर्ने, पार्टीको बाह्य सम्पर्क स्थापित तथा विस्तार गर्ने, पार्टीभित्रका विभिन्न विभागहरुबीच समन्वय गर्ने तथा भातृ संगठनहरुसंगको समन्वयलाई उच्च प्राथमिकता दिने र पार्टीका नियमित बैठक आयोजनाका लागि प्रस्तावहरु तयार पार्ने र सभापतिलाई बैठकका लागि अभिप्रेरित गर्नुका साथै पार्टी समक्ष आएका समस्या तथा मुद्दाहरुलाई तत्काल सम्बोधन गरी पार्टीको स्वच्छ छवि निर्माण गर्दै कार्यकर्तामा उत्साह जगाउन छिटो र छरितो ढंगले काम गर्ने पद्धति विकास गरिने विषयलाई उच्च प्राथमिकतामा राखेका छन् । महामन्त्री पदका उम्मेदवार डा.महतका पार्टी तथा संगठन निर्माणका कार्यक्रमहरु यस्ता छन्ः विचार
  • वी.पी.कोइरालाले प्रतिपादित गर्नुभएको पार्टीको आदर्श, मार्ग निर्देशक सिद्धान्त र विचारको समयानुकूल सही ब्याख्या गर्दै वर्तमानमा तिनको सान्दर्भिकतालाई थप पुष्टि गर्ने
  • नेपाली कांग्रेसको मार्ग निर्देशक लोकतान्त्रिक समाजवादको समयानुकूल ब्याख्या गरी सामाजिक न्यायलाई उच्च प्राथमिकता दिंदै समुन्नत र समतामूलक समाज स्थापना गर्ने नीति, रणनीति र कार्यक्रम तय गर्ने
प्रशिक्षण
  • केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई अझ सुदृढ र प्रभावकारी बनाउदै प्रदेश र जिल्ला स्तरमा पनि विस्तारित गर्ने
  • केन्द्रीय, प्रदेश, जिल्ला र पालिका कार्य समितिलाई प्रशिक्षणको बार्षिक क्यालेण्डर निर्माण गर्न लगाउने
  • पार्टीका सिद्धान्त, विचार, नीति, रणनीति र कार्यक्रमका बारेमा हरेक तहका कार्यकर्तालाई उच्चस्तरीय प्रशिक्षण दिने
  • विभिन्न तहमा प्रशिक्षण गर्ने जनशक्ति निर्माणको लागि प्रशिक्षक प्रशिक्षण TOT कार्यक्रम सञ्चालन गर्ने
  • हरेक तहका कार्यकर्ताको प्रशिक्षणका लागि आवश्यक पाठ्यक्रम,पाठ्यपुस्तक र सन्दर्भ सामग्रीहरु तयार गर्ने
  • विभिन्न संस्थाहरुसंग सहकार्य गरी नेतृत्व विकासको विशेष प्रशिक्षण दिने
  • संगठन निर्माण र सञ्चालन तथा नेतृत्व विकासको प्रशिक्षणको साथसाथै नेपाली कांग्रेसबाट तीनै तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्ना तहमा नीति तथा कार्यक्रम निर्माण,कार्यान्वयन र नागरिकको सेवाका पक्षमा पर्याप्त जानकारी दिन विशेष प्रशिक्षणको व्यवस्था समेत गर्ने
  • नेपाली कांग्रेसका हरेक नेता तथा कार्यकर्तालाई विचारमा अब्बल,तार्किक,आफ्ना कुराको पुष्टि गर्न सक्ने तथा आफ्नो सरकारले गरेका कार्यहरुको प्रतिरक्षा गर्नसक्ने र विपक्षीले सिर्जना गरेका भ्रमलाई चिर्न सक्ने सक्षम बनाउने
कार्यक्रम
  • पार्टीका हरेक तहका पदाधिकारी र कार्य समितिका सदस्यहरुलाई पार्टीलाई जनताका बीचमा लैजाने कार्यक्रम तयार गर्न प्रेरित गर्ने ।
  • स्वतन्त्रता सेनानी र ज्येष्ठ नागरिकको सम्मान, युवाहरुबीच खेलकूद,विद्यालयस्तरमा हाजिरी जवाफ,नेपाली कांग्रेसका संस्थापक नेताहरुको स्मृति दिवसमा प्रवचन, दिवंगत स्थानीय नेताहरुको स्मृतिमा कार्यक्रम गर्न र प्राकृतिक प्रकोप तथा घट्ना÷दुर्घटनामा स्वयंसेवा गर्न पार्टीका कार्यकर्ताहरुलाई परिचालन गर्ने।
  • श्रावण र भाद्र महिनामा पर्ने वीपी कोइराला स्मृति दिवस र जन्मजयन्तीमा वगैचा निर्माण, वृक्षारोपण तथा चौतारो निर्माण जस्ता रचनात्मक र सिर्जनात्मक कार्य गर्न उत्प्रेरित गर्ने । पार्टीका संस्थापक,अग्रज र राष्ट्रिय नेताहरुको स्मृति दिवसमा उपयुक्त कार्यक्रम तर्जुमा गरी सञ्चालन तथा कार्यान्वयन गर्न अभिप्रेरित गर्ने ।
  • आ–आफ्नो क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने, नेतृत्वमा विजयी हुने,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान सम्मान प्राप्त गर्नेहरुलाई सम्मान गर्ने परम्पराको प्रारम्भ गर्ने ।
  • अग्रजहरुको विश्वास नटुट्ने र युवा तथा नयाँ पुस्ताको आकर्षण बढाउने कार्यक्रम गरी पार्टी सदस्यता अभिबृद्धि गर्ने कार्यक्रमलाई बिशेष अभियानको रुपमा अगाडि बढाउने ।
सञ्चार
  • आम सञ्चार माध्यम र सामाजिक सञ्जाललाई पार्टीको संगठन विस्तार र सुदृढीकरणको अभिन्न अंगको रुपमा विकास गर्ने
  • सबै तहका संगठनलाई आफ्नो क्षेत्र अन्तर्गतका आम सञ्चारमाध्यमको सूची अद्यावधिक गरी सञ्चारमाध्यमसंग राम्रो र कार्यमूलक सम्बन्ध स्थापित गर्न प्रेरित गर्ने नीति लिने
  • ·र्टीका औपचारिक कार्यक्रमहरुलाई जनतासमक्ष पु¥याउने माध्यमका रुपमा संबन्धित क्षेत्रका सञ्चार माध्यमको सहयोग लिने सहज अवस्था सिर्जना गर्ने
  • विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सरोकारका विषयमा पार्टीको दृष्टिकोण, पार्टीले गरेका कामहरु, विपक्षी पाटीहरुले लगाएका भ्रामक लाञ्छनाहरु चिर्ने कामलाई आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालबाटै औपचारिक रुपमा सार्वजनिक गर्ने
  • पार्टीका हरेक तहमा आवधिक रुपमा पत्रकार सम्मेलन गर्ने परिपाटी आरम्भ गर्ने
  • पार्टीका हरेक कार्यकर्ता र हरेक तहका पदाधिकारीहरुका बीचमा आपसी सम्बाद हुने अवस्था विकसित गर्ने
  • गोपनीयताको श्रेणीमा पर्ने बाहेकका सूचनाहरु वेभसाइटमार्फत सार्वजनिक गर्ने परम्पराको थालनी गर्ने
  • केन्द्रीय कार्यालयको सब–डोमेनमा पार्टीका केन्द्रीय विभागहरु, प्रदेश, जिल्ला तह तथा भातृसंगठनहरुको सूचना अद्यावधिक रहने पद्धति स्थापित गरिने छ भने केन्द्रीय विभाग,प्रदेश कार्य समिति, जिल्ला तथा नगर र गाउँ कार्यसमितिलाई तल्लोतहको सूचना प्राप्त गर्न सकिने गरी सबडोमेन सहितको वेभसाइट निर्माण गर्न लगाउने ।
मूल्यांकन र अनुशासन
  • पार्टीका विभिन्न तहमा निर्वाचित पदाधिकारी, सदस्य र प्रतिनिधिहरुलाई पार्टीको विधानले दिएको जिम्मेवारी सम्बन्धित क्षेत्रका अग्रजहरुको समन्वयमा पूरा गर्न प्रेरित गर्ने,
  • · सबै तहका कार्यसमितिलाई आफू अन्तर्गतका विभाग निर्माण गर्दा उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिन प्रेरित गर्ने,
  • भातृ तथा शुभेच्छुक संस्थाहरुलाई पनि आफू अन्तर्गतका विभाग गठन गर्दा योग्यता, क्षमता, दक्षता, अनुभव र विगतको कार्य सम्पादनको आधारमा उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिन प्रेरित गर्ने ,
  • हरेक तहका कार्यकर्ताको मूल्यांकन एक तहमाथिबाट बार्षिक रुपमा हुने पद्धति विकास गर्ने,
  • उत्कृष्ट काम गर्ने विभिन्न तहका कार्यसमिति,विभाग,पदाधिकारी र कार्यकर्तालाई पुरस्कृत गरिने परिपाटी विकास गर्ने
  • पार्टीको अनुशासन कायम गर्ने पद्धतिको संस्थागत विकास गर्ने,
  • विभाग,भातृ एवम् शुभेच्छुक संस्थाहरुको गतिशीलता
  • महाधिवेशन सम्पन्न भएपछि समयमै सबै तहका कार्यसमितिहरुलाई मनोनित गर्नुपर्ने पदहरुमा पदाधिकारी र सदस्य मनोनित गरी पूर्णता दिन अग्रसर गराउने
  • महाधिवेशन सम्पन्न भएपछि यथाशीघ्र केन्द्रदेखि वडातहसम्म विभागहरु गठन गरी उपयुक्त व्यक्तिलाई योग्यता,अनुभव,कार्यक्षमता र दक्षताका आधारमा उपयुक्त जिम्मेवारी दिइने
  • सबै भातृ एवम् शुभेच्छुक संस्थाहरुलाई अविलम्ब नियमित अधिवेशन सम्पन्न गरी निर्वाचित नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्न लगाउने
  •  निजी क्षेत्र प्रभावशाली र सशक्त बन्दै गएको वास्तविकतालाई आत्मसात गर्दै सबै पेशागत संघ संगठनहरुमा आबद्ध नेपाली कांग्रेसका शुभेच्छुकहरुलाई पार्टीप्रति प्रतिबद्ध शुभेच्छुक संस्था स्थापित गरी विस्तारित गर्न प्रेरित गरिने छ र निश्चित मापदण्ड र प्रक्रिया पु¥याएर पार्टीबाट यथाशीघ्र मान्यता दिने,
  • पार्टीका सबैतहका संगठन र भातृसंस्थाहरुमा अल्पमत वा फरकमतलाई समेटेर लैजाने उदार र सहमतिमुखी नीति लिने
युवा तथा महिला
  • नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा रहेका नेपाल तरुण दल र नेपाल महिला संघलाई थप क्रियाशील गराउने,
  • पार्टीको स्थायी विभागको रुपमा रहेका महिला, लैङ्गिक समता, सामाजिक सुरक्षा एवं कल्याण विभाग र युवा तथा खेलकुद विभागलाई थप परिचालन गर्न प्रोत्साहित गर्ने,
  • युवा र महिलाहरुलाई सशक्तिकरण गर्ने कार्यक्रम तय गर्ने
  • युवाहरुलाई नेपालभित्रकै रोजगारीका अवसरलाई उपयुक्त हुने गरी सीपमूलक तालीम दिने,
  • महिलाहरुलाई आर्थिक तथा सामाजिक विकास र राजनीतिक जीवनमा सहभागिता अभिबृद्धि गराउने कार्यक्रम तय गर्ने,
  •  युवाहरुलाई खेलकूद, गीत–संगीत र नृत्य जस्ता सिर्जनात्मक काममा पनि प्रोत्साहित गर्ने,
  • युवाहरुलाई स्वरोजगार, रोजगार र आर्थिकोपार्जनका काममा लाग्न उपयुक्त कार्यक्रमहरु तर्जुमा गर्ने ।
समाजवादी नीतिको मूल लक्ष्य ः समृद्धि र समृद्धिको पहुँचमा आम जनता
  • वी.पी.कोइरालाले प्रतिपादित गर्नुभएको र संविधानसभाबाट निर्मित वर्तमान नेपालको संविधानले पनि अंगीकार गरेको लोकतान्त्रिक समाजवादको माध्यमबाटै नेपालको आर्थिक–सामाजिक रुपान्तरण गर्न हरेक नेपालीलाई सुखी,समृद्ध र समुन्नत बनाउने कार्यक्रम तय गरी कार्यान्वयन गर्न पार्टीले तीन वटै तहका सरकारलाई अभिप्रेरित गर्ने
  • समृद्धिमा सबै नेपालीको पहुँच सुनिश्चित गर्ने कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न सरकारलाई प्रेरित गर्ने
  • उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र आधारभूत तहमा नपुगेको वर्गलाई न्यायोचित वितरणको माध्यमबाट स्तरोन्नति गर्दै जाने कार्यमा राज्यलाई जिम्मेवार बनाइने नीति अबलम्बन गर्न लगाउने,
  • लोकतान्त्रिक समाजवादको लक्ष्य हासिल गर्न सञ्चार र विज्ञान तथा प्रविधिका अत्याधुनिक साधनहरुको उपयोग गर्न राज्यलाई प्रेरित गर्ने नीति लिने तथा सूचना र प्रविधि आधारित उद्यम व्यवसायलाई प्रवद्र्धन गर्ने,
  • जयवायु परिवर्तनका प्रतिकूल असरबाट नेपाललाई जोगाउन वातावरण र दीगो विकास मैत्री विकास नीति अवलम्बन गर्न राज्यलाई प्रोत्साहित गरिने छ । जल तथा सौर्य विद्युतको अधिक उत्पादन गरी घरेलु इन्धन र सवारी इन्धनमा उपयोग गर्ने नीति अबलम्बन गर्न लगाउने र विद्युत निर्यात गरी मुलुकको अर्थतन्त्रलाई सबल बनाउने,
  •  निर्वाहमुखी कृषि पद्धतिलाई व्यवसायिक बनाउने, कृषिको उत्पादन र उत्पादकत्व बढाउने, रसायनिक मल र विषादिरहित कृषि पद्धति अबलम्बन गर्ने, वर्णशंकर बीउको सट्टा रैथाने बीउ उपयोग गर्ने र रैथाने अर्गानिक बालीको व्यवसायिक खेती गर्ने कार्यलाई प्रोत्साहित गर्ने
  • आर्थिक क्षेत्रमा सहकारी,विद्यालय र वन संरक्षणमा अबलम्बन गरिएका सामुदायिक प्रयासहरुलाई दिगो बनाइने छ ।
  • कृषि,जलस्रोत,जनशक्ति,जडिबुटी र पर्यटन हाम्रो आर्थिक विकासको दीगो आधार भएकोले देशको प्राकृतिक तथा मानवीय स्रोत–साधनमा आधारित भएर आर्थिक नीति,योजना र कार्यक्रम तय गर्ने परम्परा थालनी गर्न प्रेरित गर्ने
  • ·रेक पालिकाका पर्यटकीय स्थल, स्थानीय बासिन्दाका चाडपर्व,मेला जस्ता मौलिक संस्कृति र परम्परालाई सूचिबद्ध गरिनेछ र आन्तरिक तथा बाह्य पर्यटन आकर्षित गर्ने कार्यक्रम तर्जुमा गर्न लगाउने,
  • नेपालमा ठूला उद्योगहरुको भन्दा साना तथा मझौला उद्योगहरुको संभावना राम्रो भएकोले स्वदेशी कच्चा पदार्थमा आधारित,आयात प्रतिस्थापन गर्ने र निर्यातमूलक उद्योगहरुको स्थापना गरी आन्तरिक रोजगारी अभिबृद्धि गराउने तथा विदेशी मुद्रा आर्जन गर्ने उद्योग खोल्ने नीति लिन राज्यलाई प्रेरित गर्ने,
  • स्वरोजगारमुखी कार्यक्रमलाई प्रोत्साहन दिइने र वैदेशिक रोजगारीलाई सुरक्षित र सुव्यवस्थित गर्ने ।
धर्म र संस्कृति
  • नेपाल बहुजातीय,बहुधार्मिक,बहुसांस्कृति,बहुभाषिक देश भएकोले सबै जातजातिका मौलिक भाषा,धर्म, संस्कृति र परम्पराको संरक्षण,सम्बद्र्धन र प्रवद्र्धन गर्दै धार्मिक तथा सामाजिक सद्भाव अभिबृद्धि गर्न नेपाली कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्ने,
  • राज्य धर्मकाप्रति निरपेक्ष हुन नसक्ने भएकोले नेपाल कांग्रेसले जनताको भावना अनुरुप धार्मिक स्वतन्त्रतालाई प्राधन्यता दिने,
  • नेपालका हरेक जातजाति तथा समुदायका आ–आफ्नै भाषा,भेष–भूषा, मौलिक परम्परा तथा संस्कृति ,अद्धितीय र विशिष्ट रहेकोले सबै धर्म, भाषा, भेषभूषा, रीति, परम्परा र संस्कृतिको संरक्षण र विकास गर्ने,
  • नेपाली कांग्रेस र यसका भातृ संगठनहरुका हरेक तहका कार्य समितिका पदाधिकारी तथा सदस्य र कार्यकर्ताहरुलाई धार्मिक सद्भाव अभिबृद्धि गर्ने र स्थानीय संस्कृतिको संरक्षण तथा विकास गर्ने कार्यमा उत्प्रेरित गराइने छ,
परराष्ट्र सम्बन्ध
  • नेपालको परराष्ट्र नीतिको मूल आधार राष्ट्रहित हुने र नेपालको राष्ट्रिय स्वार्थ र आवश्यकतालाई मूल नीति मानेर परराष्ट्र नीति सञ्चालन गर्न सरकारलाई प्रेरित गर्ने नीति लिइने,
  • नेपालले छिमेकी मित्रराष्ट्रहरुसंगको सुसम्बन्धलाई उच्च प्राथमिकता दिंदै नेपालको सर्वाङ्गिण विकासमा बृहत्तर अन्तर्राष्ट्रिय समुदायसंगको कुटनीतिक सम्बन्धलाई विस्तारित र विविधीकरण गर्ने नीति लाई प्राथमिकता दिने ।
  • नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार वा परराष्ट्र नीति अवलम्बन गर्दा सार्वभौमिकता, बहुलवाद, स्वतन्त्रता, लोकतान्त्रिक प्रणाली, विधिको शासन, अन्तर्राष्ट्रिय कानुन, मानवअधिकार तथा विश्वशान्तिका विश्वव्यापी मान्यता जस्ता लोकतान्त्रिक मूल्य,मान्यता र जनताका नैसर्गिक अधिकारलाई प्रमुख मापदण्ड निर्धारण गर्दै नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय महासन्धि,अभिसन्धि र अनुबन्धहरुलाई नेपाली कांग्रेसले परराष्ट्र नीतिको आधारभूत सिद्धान्तका रुपमा अनुशरण गर्ने ।
  • नेपालले वैदेशिक सहयोगका सम्बन्धमा राष्ट्रिय सहमतिका आधारमा सबै दातृराष्ट्र तथा दातृ निकायहरुसंग समान मापदण्ड निर्धारण गर्ने नीति लिने,
  • देशको आर्थिक विकासका लागि वैदेशिक सहयोग अभिबृद्धि गर्न आर्थिक कुटनीतिलाई नेपाली कांग्रेसले सर्वोच्च प्राथमिकता दिनेछ ।
  • ऋण लिदा प्रतिफलको आँकलन गरेर र प्रतिस्पर्धाका आधारमा लिने तथा त्यस्तो ऋण सहयोगको उपयोगमा प्रतिस्पर्धाका आधारमा काम लगाउने नीति अबलम्बन गर्न सरकारलाई प्रेरित गर्ने । द्धिपक्षीय वा बहुराष्ट्रिय अनुदान स्वीकार गर्दा पनि समान मापदण्डका आधारमा स्वीकार गर्ने नीति लिन लगाइने छ ।
  • नेपालसंग कुटनीतिक सम्बन्ध भएका मुलुकहरु र नेपाली कांग्रेस आबद्ध रहेको सोसलिष्ट इन्टरनेशनलका सदस्य राष्ट्रका समान विचार राख्ने राजनीतिक दलहरुसंग जनस्तरको सम्बन्ध विकास गरिने छ ।
   
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update