हिमाल दैनिक
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४‍औं महाधिवेशनबाट आफू सभापति चुनिए मात्रै वर्तमान सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताउँदै भोलि हुने मतदानमा आफूलाई मत दिएर जिताइदिन आग्रह गरेका छन्। आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै देउवाले आफू सभापति चुनिएको खण्डमा सरकार आउँदै गरेको राष्ट्रिय चुनावसम्म टिकिरहने बताए। देउवाले सभापतिमा आफूले हारेमा सभापति नजित्‍नेले के देश चलाउँछ भन्दै होहल्ला हुन सक्ने भन्दै जित्नैपर्ने दबाव रहेको बताए। प्रधानमन्त्री देउवाले सभापति हारेको खण्डमा नैतिकताको आधारमा पनि सरकारको नेतृत्व गरिरहन नमिल्ने र प्रधानमन्त्रीको पदमा बसिरहन नमिल्ने भन्ने कुरा आइरहेकोले सभापति हारे प्रधानमन्त्रीबाट आफूलाई हटाउने भन्दै यसले फेरि मुलुकमा राजनीतिक अस्थिरता आउन सक्नेतर्फ सचेत गराए। केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको र पार्टी सभापतिमा जिते मात्रै सबै दलहरूलाई लिएर स्थानीय तहदेखि केन्द्रीय तहसम्मको चुनाव गराएर कांग्रेसले जिताउनुका साथै तीनै तहमा कांग्रेसको सरकार बनाउने दाबी गरे। प्रधानमन्त्री देउवाले राष्ट्रमा प्रजातन्त्र भएमात्रै आफ्ना अधिकारको लागि लड्न सकिने भन्दै प्रजातन्त्र बिनाको देश कल्पना गर्न नसकिने धारणा राखे। उनले आफूलाई महाधिवेशनमा जिताए सबैका माग पूरा गर्ने र नेपाली कांग्रेसलाई कुनै व्यक्तिको नभइ सबैको पार्टी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे। प्रधानमन्त्री देउवाले प्रतिनिधिलाई सम्बोधन गर्दै कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानुपर्ने भएकाले सबै जनजातिलाई आरक्षण दिएको समेत बताए। उता कुनै कालखण्डमा देउवाको निकट सहयोगीका रुपमा रहेका वर्तमान उपसभापति एवं जारी महाधिवेशनमा सभापतिका प्रत्यासी बनेका नेता विमलेन्द्र निधिले भोलि हुने निर्वाचनमा सभापतिका कुनै पनि उम्मदेवारले पहिलो चरणमा बहुमत ल्याउन नसक्ने ठोकुवा गर्दै दोस्रो चरणमा सबै सभापतिका उम्मेदवारहरु एक भएर देउवालाई पराजित गर्ने घोषणा गरे। महाधिवेशन प्रतिनिधिहरुसँग मत माग्न अधिवेशनस्थलमा पुगेका निधिले चुनावबाट देउवालाई सभापतिमा पराजित गरेपछि पार्टीसँगै सरकारको नेतृत्व पनि परिवर्तन हुने दाबी गरे।
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update