हिमाल दैनिक
नेपाली कांग्रेसको निर्वाचन समितिले भोलि हुने कांग्रेसको नयाँ कार्यसमितिको निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ। पूर्वनिर्धारित कार्यतालिकामा केही फेरबदल गर्दै आइतबार निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीमा एक सभापति र एक सहमहामन्त्रीसहित ५७ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिँदै बाँकी उम्मेदवारहरुको सूचि सार्वजनिक गरेको हो। शनिबार भएको मनोनयन दर्ता प्रक्रियामा कांग्रेसको १३४ सदस्यीय कार्यसमितिमा ६ सभापतिका प्रत्यासीसहित ५ सय ४८ जनाले मनोनय दर्ता गरेकोमा सभापतिका एक प्रत्यासी युवराज न्यौपाने र सहमहामन्त्रीको थारु समूहबाट सुरेन्द्रप्रसाद चौधरीसहित ५७ जनाले उम्मेदवारी फिर्ता लिएपछि निर्वाचन समितिले ४ सय ९१ जनाको अन्तिम नामावली प्रकाशित गरेको हो। यसरी उम्मेदवारी कायम रहेका सभापतिका प्रत्यासीहरुको सूचिमा वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, नेता प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङ रहेका छन्। दुई उपसभापति पदका लागि उम्मेदवारी दिएका ७ उम्मेदवारहरुको सूचिमा वर्तमान उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, नेता महेश आचार्य, सुजाता कोइराला, धनराज गुरुङ, चन्द्र भण्डारी र दिव्यश्वरी शाह रहेका छन्। दुई महामन्त्री पदका लागि मनोनयन दर्ता गर्ने ६ प्रत्यासीहरुमा सहमहमान्त्री प्रकाशशरण महत, नेता मीनेन्द्रप्रसाद रिजाल, गगनकुमार थापा, प्रदिप पौडेल, विश्वप्रकाश शमा र राजाराम कार्की रहेका छन्। कांग्रेसको महाधिवेशनबाट चयन हुने केन्द्रीय कार्यसमितिमा विगतदेखि रहँदै आएको स्थायी गुट करिब करिब भताभुङ्ग भई नयाँ गुट, उपगुटका आधारमा प्यानलसहितको उम्मेदवारी परेको छ। विशेषगरी सभापति देउवा र पुरानो संस्थापन इतर समूहका नेता शेखर कोइरालाले पदाधिकारीदेखि सदस्यसम्मै सकेसम्म बेग्लाबेग्लै प्यानल बनाएर मैदानमा उत्रिएका छन् भने निधि र सिंहले केही पदाधिकारीसहित छिटपुट संख्यामा सदस्यहको उम्मेदवारी अघि बढाएका छन्। निर्वाचन समितिले नयाँ कार्यसमिति चयनका लागि सोमबार भृकुटी मण्डपमा तीनवटा स्थलमा मतदान कार्य संचालन गर्दैछ। जसका लागि ४७ सय बढी मतदाताले मतदान गर्दैछन्।
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update