हिमाल दैनिक
माओवादी केन्द्रको आठौँ महाधिवेशन केहिबेरमा सुरु हुँदै (LIVE)
maovadi-mahadhivesa
नेकपा (माओवादी केन्द्र)को आठौँ महाविधेशन अहिले केहिबेरमा सुरु हुदैछ । माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलनका उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको छ । देशव्यापीरूपमा कार्यकर्तापङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको माओवादीले जनाएको छ । महाधिवेशनले पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालसम्म विकल्प देखिएको छैन । हाल माओवादीको केन्द्रीय समिति १७९ सदस्यीय छ । महाधिवेशनमा २९९ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गर्ने जनाएका छ । माओवादीको अन्तरिम विधान २०७८ को धारा १६(४) र धारा ३८(१–८) अनुसार महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिम पाँच प्रतिशत रहने गरी व्यवस्था गरिएको छ । यसपटक माओवादीले पुनः बहुपदीय प्रणालीको अवलम्बन गर्ने भएको छ ।

अध्यक्षसहित १५ पदाधिकारी रहने प्रस्ताव

नेकपा माओवादी केन्द्रले अध्यक्षसहित १५ पदाधिकारीहरुको प्रस्ताव गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गरेको हो । माओवादी प्रवक्ता कृष्णबहादुर महराले एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उप महासचिव र ३ सचिव र एक कोषाध्यक्षसहितको पदाधिकारी रहने गरी विधान परिमार्जनको प्रस्ताव महाधिवेशनमा जाने जानकारी दिए। महाधिवेशनले अब १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने महराले बताए । यसअघि प्रथम राष्ट्रिय सम्मेलनको नाम दिएको माओवादीले शनिबार मात्रै त्यसलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । त्यस्तै केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पेश भएको र प्रतिवेदनका बारेमा महाधिवेशनमा नै छलफल गरिने महराले बताए । माओवादी महाधिवशेनमा मनोनीतसहित प्रतिनिधि एक हजार ६३१ जना रहने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update