हिमाल दैनिक
माओवादी महाधिवेशन: बन्दसत्रमा दुई प्रतिवेदन पेश
maovadi-mahadhiveshan
नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा दुईवटा प्रतिवेदन पेश भएको छ । सोमबार बन्दसत्रमा प्रचण्डले ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ पेश गरेका थिए भने स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् । अध्यक्ष प्रचण्डको प्रतिवेदनमा पार्टीभित्र व्यक्तिगत पद प्रतिष्ठा, लाभ र स्वार्थका निम्ति जस्तोसुकै खराब काम गर्न पछि नपर्ने प्रवृत्ति विकास हुँदै गएको उल्लेख गरिएको छ । समाजवादी क्रान्तिको विचारधारात्मक र राजनीतिक कार्यदिशा स्पष्ट भइसकेपछि संगठन संघर्ष र आचरणको प्रश्न मुख्य भएर आउने पनि प्रतिवेदनमा उल्लेख छ । प्रचण्डले यथास्थितिमा रहने खोज्ने शक्ति र समाजवादउन्मुख आर्थिक राजनीतिक नीति लिँदै समाजवादीको बाटोमा हिँड्ने शक्तिबीचमा अन्तरविरोध अपरिहार्य रहेको हुने बताएका छन् । त्यस्तै समाजवादउन्मुख आर्थिक राजनीतिक लिन संविधानले सैद्धान्तिक राजनीतिक कानुनी आधार दिएको पनि प्रचण्डको प्रतिवेदनमा उल्लेख गरेको माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । सर्वहारा बर्गप्रति निष्ठाकासाथ प्रस्तुत हुँदै शान्तिपूर्ण रुपमा क्रान्ति पुरा गर्नुपर्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख रहेकोे महराको भनाई छ । त्यस्तै गुरुङले प्रस्तुत गर्नुभएको विधानको मस्यौदामा अब माओवादी केन्द्रको केन्द्रीय समिति २९९ सदस्यीय हुने उल्लेख छ । यस्तै एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ । यस्तै केन्द्रीय समितिमा १० प्रतिशत मनोनीत गर्न सकिने प्रस्ताव गरिएको छ । दुई प्रतिवेदनमाथि छलफल गर्नका लागि २५ वटा समूह विभाजन गरिएको छ । बन्दसत्रमा मंगलबार समूहगत छलफल हुने र बुधबार समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रवक्ता महराले जानकारी दिए । समूहको निष्कर्ष पछि प्रतिवेदन पारित गरे हुने र त्यसपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने माओवादीले जनाएको छ । त्यसका लागि विष्णुपुकार श्रेष्ठ अध्यक्ष रहनुभएको निर्वाचन आयोगले पनि आवश्यक काम सुरु गरिसकेको छ । सुरुमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो । सम्मेलनमा एक हजार ७०० को हाराहारीमा प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता छ ।
प्रकाशित मिति: सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update