नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पार्टीका १० जना शीर्ष नेताहरुलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेको भोलिपल्टै थप तीन जनालार्ई पनि केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
हालै सम्पन्न पार्टीको १४औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका देउवाले शनिबार मात्रै पार्टीका नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, सुजाता कोइराला, नारायण खड्का, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा पार्टीको विधान बमोजिम मनोनित गरेका थिए।
त्यसको भोलिपल्टै सभापति देउवाले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, युवा नेताद्वय प्रदिप पौडेल र कल्याण गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित गरेको जानकारी पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति मार्फत दिएका छन्।
देउवाले मनोनित गरेका नेताहरुमध्ये पार्टी नेता पौडेल गत अधिवेशनमा आफ्नै समूहबाट साथ र समर्र्थन नपाएपछि अधिवेशनको गतिविधिबाट बाहिर रहेका थिए भने, सिटौलाले देउवालाई सभापति बनाउन सक्रिय साथ दिएका थिए। उता सिंह र निधि भने देउवाको विरुद्धमा सभापति पदका लागि उम्मेदवारी दिएर दोस्रो चरणमा देउवालाई समर्थन जनाएका थिए। यसैगरी सुजाताले पनि सिंहको टिमबाट उपसभापतिमा उम्मेदवारी दिएर पराजित भएपछि दोस्रो चरणमा सिंहसँगै देउवालाई समर्र्थन दिएकी थिइन्।
नेता महत भने देउवाको समूहबाट महामन्त्रीमा पराजित भएका थिए भने खड्का, रेग्मी र विश्वकर्माले निर्वाचनमा उम्मेदवारी दिएका थिएनन्। यसैगरी आज मनोनित हुनेहरुमध्ये शाही सहमहामन्त्रीमा पराजित भएका थिए भने पौडेल सिटौलाको सिफारिसमा देउवाकै समूहबाट महामन्त्रीमा पराजित भएका थिए। उता गुरुङ भने सभापतिमा झिनो मत ल्याएर पराजित भएका थिए।
पार्टी विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला सदस्य रहनेगरी कार्यसमितिमा ३३ सदस्य मनोनित गर्न पाउने व्यवस्था रहेको छ। जसको आधारमा हाल निर्वाचित १३४ सदस्यीय कार्यसमितिमा रहेका ४१ महिला सदस्य बाहेक थप १५ जना महिला अनिवार्य मनोनित गर्नु पर्ने बाध्यता रहेको छ।
यसका बाबजूद देउवाले समावेसी, समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई पनि ध्यान दिनु पर्ने स्थितिमा अहिलेसम्म १३ सदस्य मनोनित गरिसकेका छन् भने बाँकी २० सदस्यमा १३ जना महिला विभिन्न समूहबाट मनोनित गर्नुका साथै बाँकी ७ पदका लागि मात्रै पुरुष सदस्यलाई मनोनित गर्न पाउने भएका छन्।
देउवाले विधान बमोजिम मनोेनित गर्न पाउने स्थानमा प्रत्यक्ष वा परोक्ष रुपले आफूलाई अधिवेशनमा सघाएका नेताहरुलाई मात्रै प्राथमिकता दिएर शेखर कोइराला नेतृत्वको समूहबाट पराजित कतिपय स्थापित नेतादेखि नेता महेश आचार्यलाई मनोनित नगरेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन्।
प्रकाशित मिति: आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय