हिमाल दैनिक
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतभारको अवस्था यस्तो छ
rashtriy-sabha
राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कानुनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षलाई मात्र मताधिकार छ । कर्णालीमा हाल स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष १५६ र प्रदेशसभा सदस्य ३५ गरी १९१ मतदाता छन् । प्रदेशसभाका एक सदस्य बराबर ४८ र स्थानीय तहका प्रमुख–उपप्रमुख एक बराबर १८ मतभार कायम छ । यस हिसाबले राष्ट्रियसभा सदस्यको मतदानका लागि प्रदेशसभा सदस्यको कूल मतभार एक हजार ६८० रहेको छ । स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षको कूल मतभार दुई हजार ८०८ रहेको छ । राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशमा सबैभन्दा बढी मत नेकपा (माओवादी केन्द्र)सँग छ । माओवादी केन्द्रका स्थानीय तहमा प्रमुख-उपप्रमुख गरी ५२ र प्रदेशसभामा १२ सदस्य छन् । माओवादी केन्द्रबाट स्थानीय तहमा जितेका मतदाताको मतभार ९३६ र प्रदेशसभा सदस्यको मतभार ५७६ गरी एक हजार ५१२ मत छ । नेकपा (एमाले) का स्थानीय तहका प्रमुख-उपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन् । जसमा स्थानीय तहमा एमालेको ८१० र प्रदेशसभा सदस्यबाट ६२४ मत हुन आउँछ । एमालेको कूल एक हजार ४३४ मत छ । नेपाली कांग्रेससँग स्थानीय तहका प्रमुख–उपप्रमुखको ४० र प्रदेशसभा सदस्य ६ रहेका छन् । कांग्रेससँग प्रमुख–उपप्रमुखको मतभार ७२० तथा प्रदेशसभा सदस्यको २८८ गरी कूल एक हजार आठ मत छ । एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)मा स्थानीय तहका प्रमुख–उपप्रमुख गरी १३ र प्रदेशसभामा तीन सदस्य छन् । उनीहरुको स्थानीय तहको मतभार २३४ र प्रदेशसभा सदस्यको मतभार १४४ गरी एकीकृत समाजवादीको कूल मत ३७८ रहेको छ । राप्रपाको एक जना प्रदेशसभा सदस्य भएकाले उसको मतभार ४८ मात्र छ । रासस
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update