आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णालीमा ६ जनाको उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
राष्ट्रियसभा सदस्य रुकुमपश्चिमका ठगेन्द्रप्रकाश पुरी (समाजवादी), हुम्लाका कविता बोगटी (एमाले) र कालिकोटका जीवन बुढा (माओवादी)को पदावधि फागुन १८ गते सकिएर रिक्त हुने तीन पदमा यहाँका चार दलका ६ उम्मदेवारले आफ्नो मनोनयन दर्ता गरेका हुन् ।
प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार नेपाली कांग्रेसबाट महिला कलस्टरमा दुर्गा गुरुङ (सुर्खेत), माओवादी केन्द्रबाट अपाङ्गता–अल्पसङ्ख्यक कलस्टरमा नरबहादुर विष्ट (सुर्खेत) र एकीकृत समाजवादीबाट खसआर्य कलस्टरमा उदय बोहरा (सल्यान)ले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रतिपक्षी दल नेकपा (एमाले)बाट खसआर्य कलस्टरमा चुडामणि शर्मा (सुर्खेत), महिलामा गङ्गा महत (जुम्ला) र अपाङ्गता–अल्पसङ्ख्यक कलस्टरमा पदम माझी (दैलेख)ले मनोनयन दर्ता गरेका छन् । कांग्रेसबाट महिला कलस्टरमा मनोनयन दर्ता गरेकी राष्ट्रियसभा सदस्यका उम्मेदवार वीरेन्द्रनगर–१ का गुरुङ तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा मारिएका कांग्रेस कार्यकर्ता यज्ञबहादुर गुरुङकी धर्मपत्नी हुन् ।
माओवादी केन्द्रबाट अपाङ्गता कलस्टरबाट उम्मेदवारी दिका विष्ट पहिलो संविधानसभाको सदस्य र हाल उक्त पार्टीको केन्द्रीय सदस्य हुन् । खस आर्यतर्फ उम्मेदवारी दिएका बोहरा सल्यानका पूर्वजिल्ला विकास समिति सभापति र एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन् । एमालेबाट उम्मेदवारी दिएका शर्मा र माझी पार्टीको प्रदेश कमिटी सदस्य हुन् भने महत पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुन्। महत जुम्लाका एमालेका तत्कालीन नेता तथा पूर्वशान्ति राज्यमन्त्री स्व डिल्लीबहादुर महतकी धर्मपत्नी हुन् ।
सत्ता साझेदार दलमध्य नेकपा (माओवादी केन्द्र)को प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरेर एक हजार ५१२, कांग्रेसको एक हजार आठ र नेकपा (एकीकृत समाजवादी)को ३७८ मत रहेको छ ।
गठबन्धनभित्रका तीनै दलको मतगणना गर्दा दुई हजार ८९८ हुन्छ । प्रतिपक्षी दल एमालेसँग प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरेर एक हजार ४३४ मत छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग मात्र ४८ मत छ । रासस
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्